© २०२३
कपिलवस्तु,२२ जेठ ।
आज विश्व वातावरण दिवस, प्रत्येक वर्ष जून ५ मा मनाइन्छ । कपिलवस्तु सहित देशै भर विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व वातावरण दिवस मनाइँदै छ । विश्व वातावरण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाको आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बुद्ध स्थल कुदानको सरसफाइ गरेको छ । “प्लास्टिक प्रदूषण न्यूनीकरण ः हाम्रो दायित्व” भन्ने नाराका साथ बुद्ध स्थल कुदानमा सरसफाइ कार्यक्रम गरिएको हो । डिभिजन वन कार्यालय कपिलवस्तु अन्तरगतका कर्मचारीको टोलीले कुदानको मुख्य स्तूप, मण्डला क्षेत्र र शिवालय मन्दिर भएको स्तूप सहित कुदान क्षेत्रमा सरसफाइ गरेको हो ।

कार्यक्रममा सहभागीले प्लास्टिकजन्य फोहर र अन्य फोहर सङ्कलन गरी व्यवस्थापन गरेका थिए । बुद्ध स्थल कुदानमा प्लास्टिकजन्य फोहर व्यवस्थापन गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका वरिष्ठ वन अधिकृत मदन ढुंगानाले जानकारी दिए ।स्थानीय स्तरमा प्लास्टिकजन्य फोहरको सही व्यवस्थापन बारे सचेतना फैलाउन कार्यक्रम सहयोगी हुने उनले बताए । पर्यावरण जोगाउनका लागी प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागी बुद्ध स्थल कुदानबाट सुरु गरिएको सरसफाइ कार्यक्रम उदाहरणीय रहेको लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए । प्लास्टिकजन्य फोहरको सही व्यवस्थापनमा स्थानीय समेत सचेत हुन आवश्यक रहेकोमा उनले जोड् दिए ।
सरसफाइ कार्यक्रम गरिएको बुद्ध स्थल कुदान भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा पिता राजा शुद्धोदन सँग पहिलो पटक भेट गरेका थिए । बुद्ध धर्म ग्रन्थ अनुसार कुदानलाई निग्रोधाराम नामले चिनिन्छ । यता दिवसको अवसर पारेर डिभिजन वन कार्यालयको अगुवाइमा बाणगंगा नगरपालिका वडा नम्बर ६ को मधौलिया सामुदायिक वन क्षेत्रबाट वृक्षारोपण कार्यक्रम सुरु गरिएको डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका वरिष्ठ वन अधिकृत सन्त बहादुर थिङले जानकारी दिए ।