© २०२३
बर्दघाट, २० जेठ ।
सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइ पि एल) को अठारौँ संस्करणको उपाधि होडका लागि मंगलबार पन्जाब किड्ड र रोयल च्यालेन्जर बेँगलुरु भिड्दै छन् । संयोग यस्तो छ, यी दुई टोलीमध्ये जसले जित हासिल गरे पनि उपाधि भने पहिलो पटक हासिल गर्नेछ । कुल १० टिम सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट ४ मा मुम्बई इन्डियन्स, पन्जाब किड्ड, रोयल च्यालेन्जर बेँगलोर र गुजरात टाइटन्स उपाधिका लागि प्लेअफको यात्रा तय गरेका थिए । अँक तालिकाको आधारमा पन्जाब र बेँगलोर क्वालिफायर १ मा भिडेका थिए, पन्जाबलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै बेँगलोर फाइनल पुग्ने पहिलो टोली बनेको थियो ।
फाइनल यात्राका लागि एलिमिनेटर १ मा गुजरात र मुम्बई बिच भिडन्त भएको थियो । उक्त खेलमा मुम्बई ले गुजरातलाई २० रनले पराजित गर्दै क्वालिफायर २ मा आफूलाई सुरक्षित गरेको थियो । लिगको अङ्कतालिकामा पहिलो स्थानमा रहेको पन्जाब क्वालिफायर १ मा बेँगलोरसँग पराजित भए पनि क्वालिफायर २ मा इलिमिनेटर १ विजेतासँग पुनः भिड्न पाउने मौकालाई सदुपयोग गर्दै मुम्बई लाई ५ विकेटले पराजित गर्दै पन्जाबले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
क्वालिफायर १ मा निकै फितलो प्रदर्शन गरेको पन्जाबले क्वालिफायर २ मा मुम्बई सँगको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । मुम्बई ले दिएको २ सय ४ रनको लक्ष्य पाएको पन्जाबले कप्तान श्रेयश ऐयरको उत्कृष्ट पारी (४१ बलमा ८७ रन) को मद्दतले १ ओभर बाँकी छँदै ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेटाएको थियो । पन्जाबले मुम्बई को छैटौँ पटक उपाधिका लागि भिड्ने सम्भावनालाई क्वालिफायर २ मा समाप्त पारेको थियो ।
आइपिएलको १८ औँ संस्करणसम्म आइपुग्दा फाइनल भिडन्त हुने दुवै टोलीले हालसम्म उपाधि हात पार्न सकेका छैनन् । जुन टोलीले फाइनल जिते पनि उपाधि पहिलो हुनेछ । यसअघि सम्पन्न प्रतियोगिताबाट मुम्बई र चेन्नइ ५—५ पटक, कोलकाता नाइट राइडर्स ३, राजस्थान रोयल्स, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले १—१ पटक उपाधि चुमेका छन् । यसअघि सम्पन्न १७ वटा संस्करणमा पन्जाब ५ पटक लिग चरण पार गरी प्लेअफ सम्म स्थान बनाउन सकेको छ । पन्जाब एक पटक (२०१४) मात्र फाइनलमा स्थान बनाउन सफल रहेको थियो । २०१४ मा बेँगलुरुमा भएको सातौँ संस्करणको प्रतियोगितामा पन्जाबलाई कोलकाता नाइट राइडर्सले ३ विकेटले पराजित गर्दै उपाधि चुम्नबाट रोकेको थियो ।
आइपिएलमा सर्वाधिक फ्यान फलोइङको तेश्रो स्थानमा रहेको र अभागी टोली भनेर चिनिने रोयल च्यालेन्जर बेँगलुरु १८ औँ संस्करणसम्म आइपुग्दा ९ पटक प्ले अफ यात्रा तय गरेको छ । बेँगलुरु २००९, २०११ र २०१६ गरी ३ पटक फाइनलमा प्रवेश गरे पनि उपाधि भने चुम्न सकेको छैन । २००९ मा डेक्कन चार्जर्स सँग ६ रनको झिनो अन्तरले पराजित भएको बेँगलोर २०११ मा चेन्नइ सँग ५६ रनको फराकिलो अन्तरले हार ब्यहोर्दै स्तब्ध भएको थियो । २०१६ मा पुनः फाइनल यात्रा तय गरे पनि सनराइजर्स हैदरावाद सँग ८ रनको अन्तरले पराजित भएसँगै आइपिएल उपाधि विहीन बन्न पुगेको थियो ।
पन्जाब र बेँगलुरु हेड टु हेड
आइपिएलको १८ औँ संस्करणसम्म आइपुग्दा पन्जाब र बेँगलुरु ३६ पटक आमने सामने भएका छन् । रोचक त के छ भने यि दुवै टोलीले समान १८–१८ जित हासिल गरेका छन् । पहिलो सँस्करण देखी १८ औँ सम्म आइपुग्दा पन्जाबले २००८, २०१३, २०१४, २०१७, २०२० र २०२२ मा बेँगलुरुलाई क्लिन स्वीप गरेको छ भने २०१०, २०१६, २०१८, २०१९, २०२३ र २०२४ मा पन्जाबलाई क्लिन स्वीप गरेको छ । जारी प्रतियोगितामा यी दुई टोली लिगमा २ पटक र प्ले अफमा १ पटक भिडेका छन् । लिगमा दुवै टोलीले १–१ जित हात पार्दा प्लेअफमा भने बेँगलोरले पन्जाबमाथि ६० बल बाँकी छँदै ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।प्रभाव पार्न सक्ने खेलाडी
जारी आइपिएलमा विदेशी खेलाडी भन्दा भारतीय खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेको छ । फाइनल प्रवेश गरेका दुई टोली पन्जाब किँगस र रोयल च्यालेन्जर बेँगलोरमा पनि उत्कृष्ट भारतीय खेलाडीहरूले भरिएका छन् । पन्जाब किँगसमा कप्तान श्रेयश ऐयर लयमा रहेका छन् । उनले जारी आइपिएल मा कुल १६ म्याचमा ६ सय ३ रन बनाएका छन् । उनी टिममा सबैभन्दा भरपर्दा ब्याटरका रूपमा रहेका छन् । ओपनर प्रबसिमरनले १६ खेलबाट ५ सय २३ र अर्का ओपनर प्रियान्स आर्या निकै आक्रामक खेल्न सक्ने ब्याटर हुन् । उनले १६ खेलबाट ४ सय ५१ रन बनाएका छन् । तिन प्रमुख ब्याटर बाहेक नेहाल वडेरा, जोस इङ्लिस पनि ब्याटिङ फर्ममा रहेका छन् । उनीहरू मध्य क्रममा ब्याटिङमा उत्रिँदा खेलको दिशा परिवर्तन गर्न सक्ने खेलाडीका रूपमा रहेका छन् ।पन्जाबको प्रभाव पार्न सक्ने बलरहरूमा अर्सदिप सिँह, यजुवेन्द्र चहल र मार्को यानसन रहेका छन् ।जारी आइपिएलमा अर्सदिपले १८ विकेट लिएका छन्, यस्तै यानसनले १६ र चहलले १५ विकेट लिएका छन् । रोयल च्यालेन्जर बेँगलुरु पनि स्टार खेलाडीले भरिएको छ । विराट कोहली बेँगलुरुका प्रमुख खेलाडी हुन उनले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । कोहलीले १४ खेलबाट ६ सय १४ रन जोडेका छन् । बेँगलुरुको ब्याटिङ पक्षमा रजत पाटिदार, फिल साल्ट लगायतका खेलाडी रहेका छन् भने लियाम लिभिङ्गस्टोन, टिम डेभिड, कुनाल पाण्ड्या, रोमारियो सेफर्ड जस्ता अलराउण्ड समेत रहेका छन् ।
बेँगलुरुको बलिङ्ग आक्रमणमा जोश हेजलउड निकै लयमा छन् उनले २१ विकेट लिइसकेका छन् । यस्तै कुनाल पाण्ड्या, भुवनेश्वर कुमारको कसिलो बलिङ्गले पन्जावलाइ उच्च रन बनाउनबाट रोक्न सक्छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा मंगलबार नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुने फाइनल खेलमा दुई टोलीमध्ये जसले जित हासिल गरे पनि १८ औँ संस्करणको आइपिएल बाट थप एक टोलीले आइ पि एल विजेताको ताज पहिरिँदै इतिहासमा नाम लेखाउने छ ।