© २०२३
बर्दिया, १६ जेठ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी मधुवन नगरपालिकाले सिस्ने कम्पनी सँग २०८० साल चैत महिना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर निर्माण गर्नुपर्ने समय अवधि पुरा हुँदा समेत निर्माण सम्पन्न भएको छैन । पालिकाले ७ किलोमिटर बाटो कालोपत्रे गर्ने र झरना खोलाको पुला निर्माणका लागि पहिला १३ करोडमा सम्झौता गरेको थियो तर त्यस ठेक्कामा पछि रकम घटाएर ९ करोडमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको मधुवन नगरपालिकाका अध्यक्ष मिन बहादुर भट्टले बताए ।
उनले भने, ठेकेदार कम्पनीलाई समयमा निर्माण गर्नका लागि बारम्बार ताकेता गर्दा समेत अटेरी गरेर काम ढिलासुस्ती गर्दै आएको छ । २ वर्षमा ७ किलोमिटर बाटो कालोपत्रे हुनु पर्नेमा हालसम्म २ किलोमिटर बाटो मात्र कालोपत्रे गरेको छ । झरना खोला वडा नम्बर १ र २ जोड्ने खोला भएकोले पुललाई पहिला निर्माण गरेर बाटो बनाउनु पर्ने हो तर हल सम्म न बाटो बन्यो न पुल नै पहिला जस्तै यो वर्ष पनि स्थानीयहरू बर्खाको समयमा झरना खोलाको बाढीको सामना गर्नु पर्ने अध्यक्ष भट्टले बताए ।
बर्खाको समय बाहेक अरू समय खोलामा पानी हुँदैन जस कारण ओहोर दोहोर गर्न सजिलो हुन्छ तर बर्खाको समयमा पहाडी भेगमा पानी परेपछि झरना खोलामा एकदमै रफ्तारमा बाढी आउँछ जस कारण आउजाउ गर्न गाह्रो भएको बारबर्दिया नगरपालिका वडा नम्बर ११ फच्कहवाका प्रभुराम चौधरीले बताए । उनले भने, म यो बाटोमा दैनिक हिँडिरहेको छु यो बाटामा हिँड्न लागको २०६६ सालदेखि हो ।
म पेसाले शिक्षक भएकोले मधुवन नगरपालिका वडा नम्बर १ र्सुपटुवामा पढाउनको लागि जाने गरेको हुन्छु । निर्माण गर्नका लागि पालिकाबाट ९ करोडको यो ठुलो रकमको ठेक्का हो यसमा सबै राजनीतिक व्यक्तिहरूको मिलेमतो रहेको अनुमान गर्न सकिन्छ । दुई वर्षमा केही भएको देखिँदैन २ किलोमिटर कालोपत्रे भएको छ निर्माण पुरा हुँदासम्म पहिला कालोपत्रे गरेको बाटो भत्किने अवस्थामा आउँदैन भन्न सकिन्न ।
स्थानीय देवेन्द्र यादवले भने अझै यो बाटोको समस्या उस्तै छ । स्थानीय सरकार आएको करिब ८ वर्ष भयो तर मधुवनको विकास केही भएको देखिँदैन । यो बाटो ओरालीदेखि सहजै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न निकै छोटो छ तर पनि यो बाटोलाई निर्माण गर्न लापरबाही गरेको मधुवन नगरपालिकाका स्थानीय यादवले बताए । उनले भने, कमिसनको कारणले कुनै पनि निर्माणको काममा ढिलाइ भएको हुन्छ । कमिसन पाउनका लागि आफ्नो चिनजानको ठेकेदार कम्पनीलाई ठेक्का दिएर समयमा काम गराउन सक्दैनन् । यो झरना खोलाको पुल र ओराली देखि ठाकुरद्वारा जोड्ने बाटो कमिसनको खेल भएको कारणले नगरपालिकाले दबाब दिन सक्दैन र ठेकेदारले समयमा काम गरेको छैन । यदि ठेकेदार कम्पनीले २०८४ सालसम्म सम्पन्न गर्न सकेन भने यो फेरी चुनावी एजेन्डा बनेर आउने यादवले बताए ।
पालिकाले यति ठुलो लगानी गर्नु चुनौती नै हो । तर समयमा जनताहरूलाई सेवा दिन नसक्नु त्यो पनि पालिकाले लापरबाही गरेको देखिन्छ । पालिकाले आफ्नो बर्षको बजेटबाट करिब १५ देखि २० प्रतिशत लगानी गरेको देखिन्छ । उक्त मार्ग बर्दिया राष्ट्रिय निकुञ्जको जैविक मार्गको जंगल भएर गएको छ त्यो बाटो छिट्टै निर्माण गर्न सके सहजै पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने देखिन्छ ।