© २०२३
बुटवल ,१५ जेठ ।
१८ औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीको आयोजनामा ओमसतिया गा.पा. वडा नं. ४, बालापुरमा अवस्थित सत्यसाई वृद्धाआश्रमका बुवा–आमालाई ‘खाना खुवाउने, नगद तथा पंखा हस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यक्रम नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री लुम्बिनी प्रदेशसभा सदस्य माननीय अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख आतिथी रज्जाकले लोकतान्त्रिक गणतन्त्रको कुनै पनि विकल्प नरहेको, कुनै नेताको कमी–कमजोरी र गरेका गल्तीलाई व्यवस्थासँग जोडेर हेर्न नहुने बताए । साथै जनताले गरेका जनआन्दोलनका परिणाम स्वरुप यो देशमा जनताका छोरा–छोरी राष्ट्र प्रमुखको रुपमा स्थापित हुने अवसर गणतन्त्रले दिएकोले सानातिना आँधीवेरीले यसलाई फरक नपर्ने विचार राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, श्री सत्यसाई वृद्धाआश्रमकी अध्यक्ष माया खरेल, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, क्षेत्र नं. ३ (क) का कार्यबाहक सभापति गोबिन्द प्रसाद बस्याल, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर वडा नं. ७ का वडा सभापति भविलाल पौडेल लगायतले गणतान्त्रिक व्यवस्थालाई जनताको हकहित, अधिकारका पक्षमा समर्पित बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा वृद्धाश्रमका बुवा–आमालाई विहानको खाना, ४ थान सिलिङ्ग पंखा र नगद रु.१५ हजार ५ सय ५५ रुँपिया हस्तान्तरण गरिएको थियो । साथै सोही कार्यक्रममा पार्टीका सिद्धार्थनगरका उपसभापति देवराज न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रमलाई रु.११ हजार रुँपिया, सिनपा वडा नं ४ का वडा सभापति नरेन्द्र रौनियारले रु.२ हजार १ सय रुँपिया र क्षेत्रीय सदस्य रुपमाया पुनले खाधान्न सामाग्री समेत प्रदान गरेको थियो ।