© २०२३
तानसेन ,११ जेठ ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका–७, प्रभास स्थित ऐतिहासिक कमलपोखरी अहिले सेतो कमल फूलले ढकमक्क बनेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ।
पोखरीभरि फैलिएको सेतो कमलको अद्भुत दृश्य हेर्न अहिले दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन्। शान्त वातावरण, हरियाली र पोखरीमा पानीमाथि फुलिरहेका सेतो कमलले यस्तो आभास दिएको छ, मानौँ स्वर्ग पृथ्वीमा ओर्लिएको हो। “यो सुन्दरता यत्रो छ कि शब्दले बयान गर्न सकिँदैन,” भन्छिन् बुटवलबाट आएकी पर्यटक सुरक्षा थापा।
र अर्की काठमाडौँबाट आएकी पर्यटक सुनिता ढुङ्गाना भन्छिन् “यो दृश्य मैले पहिले कहिल्यै देखेको थिइनँ । सेतो कमलको मनमोहक सौन्दर्यले मनै शान्त भयो।”हरेक दिन यहाँ टिकटक, इन्स्टाग्राम र युट्युबहरू भिडिन्छन्। फोटो सुट, भिडियो क्लिप, लाइभ स्ट्रीमिङ हुने कमलपोखरी, अब केवल पोखरी रहेन, डिजिटल कथा र अनुभव सङ्ग्रहालय बनेको छ।
कमलपोखरी ऐतिहासिक र पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। केही वर्ष अघिसम्म झाडी र फोहोरले भरिएको कमलपोखरी अहिले सफा, व्यवस्थित र पर्यटकमैत्री बनेको छ। पर्यटकहरू भन्छन् “सेतो कमलको फुलाइले पोखरीको सौन्दर्यमा चार चाँद लगाएको छ। पर्यटक बढेसँगै वरपर चिया पसल, घरेलु खाना स्टल र स्थानीय सामाग्री बिक्री गर्नेहरू सक्रिय भएका छन्। यसले गाउँमा आर्थिक गतिविधि र आत्मनिर्भरतामा सहयोग पुर्याएको छ।