© २०२३
बुटवल ।
पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रको आयोजनामा बाग्लुङ ढोरपाटन नगरपालिका १ बुर्तिबाङ अस्पतालमा एक हजार छ जनाले निःशुल्क स्वास्थ्य शिविरको सेवा लिएका छन ।
कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि रहेको र पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले सराहनीय काम गरेको बताउँदै स्वास्थ्य, शिक्षा, पर्यटनमा समेत केन्द्रले काम गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रका अध्यक्ष देव बहादुर कुँवरले स्वास्थ्य शिक्षा पर्यटनको क्षेत्रमा रुपन्देहीका १६ पालिका र पश्चिम बाग्लुङका सबै पालिकालाई जोडेर काम गर्ने बताउँदै स्वास्थ्य शिक्षाले व्यक्तिलाई स्वास्थ्यसम्बन्धी ज्ञान, धारणा र सिप प्रदान गरेर उसको व्यवहारमा सकारात्मक परिवर्तन ल्याई रोगबाट बचाउने बताए ।
उनले स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गरेकोमा बुटवल हस्पिटल प्रालि र सम्पूर्ण डाक्टर, बुर्तिबाङ हस्पिटल, नेपाल प्रहरी, स्वयंसेवक रक्तदाता समूह रुपन्देही, सञ्चार माध्यम, विभिन्न संघ संस्था, स्वयंसेविका र विभिन्न ठाउँबाट बिरामी पठाउने जनप्रतिनिधि कर्मचारीलाई धन्यवाद दिएका थिए । स्वास्थ्य शिविरसंगै रक्तदान कार्यक्रम समेत पश्चिम बाग्लुङ रुपन्देहीले आयोजना गरेको थियोे ।
स्वास्थ्य शिविरमा बडिगाढ गाउँपालिका, ढोरपाटन नगरपालिका, तमान खोला गाउँपालिका, निसिखोला गाउँपालिकाबाट स्थानीयको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा महासचिव नरहरी भुसाल, समन्वय प्रवक्ता दिनेश घिमिरे र सचिवालय सदस्य होम बहादुर बिकलगायतले पनि कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।