© २०२३
कैलाली, १७ जेठ ।
कैलालीको जानकी गाउँपालिकामा शनिबारदेखि जग्गाको नाप नक्सा सुरु भएको छ । गाउँपालिकाको वडा नं ५ को नवलपुरबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गाको नाप नक्सा सुरु भएको हो ।
जग्गाको नाप नक्साको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष गणेश चौधरीले भूमिहीनलाई लालपुर्जा दिने प्रतिवद्धता जनाएका छन् । उनले भूमिहीनको जग्गाधनी पुर्जा प्राप्तिको अपेक्षा र जनप्रतिनिधिको प्रतिबद्धतालाई पूरा गर्न गाउँपालिकाबाट पूर्ण सहयोग रहने बताए ।
गाउँपालिकामा भूमिहीन दलित ४ सय ९०, भूमिहीन सुकुम्बासी १ हजार ४ सय २९ र अव्यवस्थित बसोबासी ३ हजार २ सय ५७ गरी ५ हजार १ सय ७६ जना रहेका छन् । जानकी गाउँपालिकाको आयोजनामा सुरु भएको जग्गा नापनक्सा उद्घाटन कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष यज्ञ प्रसाद उपाध्याय, सदस्य सचिव जनक राज भट्ट , सदस्य दानबहादुर विक, गाउँपालिका उपाध्यक्ष लालमती कठरिया, वडाध्यक्ष भीम बहादुर चौधरी, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई समयमा जग्गा नाप नक्सा गरी यसै आर्थिक वर्षको मसान्तदेखि जग्गाधनी पुर्जा वितरणको थालनी हुने प्रतिवद्धता जनाएका छन् ।