© २०२३
नवलपरासी, १० जेठ ।
जिल्लाको सरावल गाउँपालिकाले कुलो, पोखरी, जलाशय, खोला–खोल्सीलाई व्यवस्थापनको काम सुरु गरेको छ । ती ठाउँका पानी सिँचाइको स्रोत बनाउनमा संरक्षण र व्यवस्थापन गरिएको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले पछिल्लो पटक वडा नं.४ स्थित स्थानीय ‘हुलासी घोल’ सफाइमा सक्रियता देखिएको छ । पटक–पटक स्थानीयले हुलासी घोल सफाइ गर्न र अतिक्रमण खाली गराउनका लागि माग गर्दै आएका थिए । घोललाई सफाइ गरी जलश्रोतको रूपमा व्यवस्थापन गरिने गरी सफाइ अभियान थालिएको गाउँपालिका अध्यक्ष सु खाडी प्रसाद चौधरीले बताए । सरावाल गाउँपालिका पूर्णतः कृषि अर्थतन्त्रमा आधारित छ । कृषिको आधार सिँचाई हो, उनले भने, सिँचाइका लागि कहाँ कहाँ जलश्रोत छन्, त्यसको खोजी र पहिचान गर्दै जलस्रोत व्यवस्थापनमा काम गाउँपालिकाले गर्ने रणनीतिगत योजना बनाई काम गर्दै आएको उनले सुनाए ।
पहिला पनि सिँचाई कुलो व्यवस्थापनका लागि सिचाई डिभिजन कार्यालयसँग समन्वय गरी काम भई रहेको छ । पोखरी ताल व्यवस्थापनका काम गरिँदै छ, सोही क्रममा यो ७ किलोमिटर हुलासी घोलको सफाइ र अतिक्रमण खाली गराउने काम भइरहेको छ । काम चुनौतीपूर्ण छ, उनले थपे, तर दीर्घकालीन लाभ हुने खालका काम भइरहेका छन् । वरिपरिका केही ब्यक्तिले उक्त घोल अतिक्रमण पनि गरेका छन् । त्यसलाई खाली गराउँदा केही असन्तुष्टि तँ हुन्छ नै, तर पछि तिनीहरू पनि बुझ्दै जाने उनको भनाइ थियो ।
सुखाडी प्रसाद चौधरी
अध्यक्ष, सरावल गाउँपालिका, नवलपरासी
गोबर हिया गाउँ नजिकैको घोलबाट सुरु भई झरहीखोलासम्म उक्त घोलले जोडेको छ । ७ किलो मिटर उक्त घोलको लम्बाई कहीँ पातलो र कहीँ चौडाइ फरक फरक छन् । २०२४ सालको नापी गरी तयार पारिएका जग्गाको नक्सामै उक्त घोलको नक्साकन गरिएको हुँदा सहजै यकिन गर्न गाह्रो छैन । अहिले घोल सफाईले कहिँकहिँ माटो समेत निकासी गर्न परेको छ । यसले आन्तरिक राजस्वलाई पनि सहज बनाउने छ । त्यसैगरी पछि घोलमा माछा पालन, सिँगाडाखेती पनि गर्न सक्ने अवस्था हुन्छ,त्यो पनि आन्तरिक स्रोत हुन सक्ने हुँदा दशक देखी अतिक्रमणको चपेटामा परेको हुलासी घोलको सफाइ,व्यवस्थापनमा काम गर्न थालिएको अध्यक्ष चौधरीले बताए ।
उक्त घोलमा पानी जम्मा गर्न सकिने हो भन्ने वर्ष भरि वरिपरिका किसानले सिचाई गर्न सक्ने छन् । सिचाई गरी तरकारी लगायत बालीनालीमा सहज सिँचाई हुन सक्ने अवस्था छ । पानी कम भयो भन्ने गण्डक नहरबाट पनि पानी जम्मा गरी राख्न सक्ने अवस्था पनि छ । यसले गर्दा पनि हुलासी व्यवस्थापन गरी बहु उपयोगी स्रोतको रूपमा व्यवस्थापन गर्ने गाउँपालिकाको सोच रहेको उनले सुनाएका थिए । बाढीको बेला जल निकास र अन्य समयमा सिचाई स्रोतको रूपमा हुलासी घोल हुने विश्वास लिइएको अध्यक्ष चौधरीको भनाइ थियो । यसका लागि स्थानीयवासी समेतले सहयोग गर्नु पर्ने उनले बताए ।