© २०२३
नवलपरासी,पश्चिम् ।
बर्दघाट नगरपालिका र अस्पतालको अगुवाईमा मृगौला पिडित बचाउ महा अभियान सुरु गरिएको छ ।सहिद स्मृति सामुदायिक अस्पताल र नगरपालिकाले एक बृहत् कार्यक्रमको आयोजना गरी आज अभियानको सुरुवात गरिएको छ ।
बर्दघाट नगरपालिका र संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा धुलिखेल अस्पतालबाट बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा ४ थान हेमो डायलासिस मेसिन उपलब्ध भएको हो ।
अभियान शुभारम्भ समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण प्रसाद कलवारले अस्पतालको स्थापना कालदेखि यहाँसम्म आइपुग्दा अस्पतालको विकासमा योगदान पुर्याउने सबैको योगदान अतुलनीय रहेको बताउँदै यस महा अभियानका लाग प्रदेश सरकारबाट उपलब्ध हुन सक्ने सहयोगका निम्ति आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला पीडित बचाउ अभियानका लागि सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।
सरकारको स्वास्थ्य मापदण्ड अनुरुप सामुदायिक अस्पतालको प्रशासनिक सेवा बिस्तार र सेवा सञ्चालन तथा जनशक्ति ब्यवस्थापनका लागि तीनै तहका सरकारले लगानी गर्न नमिल्ने बताउँदै नगर प्रमुख श्रेष्ठले डायलासिस सेवा सञ्चालनका लागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखिएको स्पष्ट पारे ।एक घर एक हजार संकलन अभियानू अनुरुप नागरिकहरू स्वस्फूर्त रुपमा सो भन्दा कम र सो भन्दा बढी सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

मृगौलाको डायलाइसिसका लागि जिल्लामा सेवा उपलब्ध नहुँदा बुटवल भैरहवा जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले सामुदायिक अस्पतालमा सेवा विस्तार गरी जिल्लामै पहिलो पटक डायलासिस सेवा सुचारु गर्न थालिएको बताइएको छ ।
सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सहयोग संकलनको महाअभियान सुरु गर्न लागिएकाले बर्दघाट नगरबासीसहित सबै जिल्लाबासीलाई सक्दो सहयोगका लागि नगर प्रमुख श्रेष्ठले आह्वान गरे । सो अभियानमा बर्दघाट नगरपालिका भित्र रहेका सबै घरमा पुगेर सहयोग सङ्कलन गर्ने योजना बनाइएको छ ।
सामुदायिक अस्पतालमा तलबभत्ता लगायतका कार्यका लागि स्थानीय तहबाट लगानी गर्न कानुनी असहजता भएकोले र लगानी गरेको रकम बेरुजु देखिने भएकाले विकल्पको रुपमा अभियान चलाइएको श्रेष्ठले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) ले आम नागरिकको स्वास्थ्य जस्तो संवेदनशील कुरालाई ध्यानमा राख्दै मानवीय सेवाका लागि मृगौला पीडित अभियान सुरु हुनु प्रसंशनीय रहेको उल्लेख गर्दै भौतिक विकासका लागि मात्रै नभै यस्ता अभियानहरुमा जुट्न सबैमा आग्रह गरे ।

सेवा सुचारु भएपछि नियमित डायलासिस गर्नु पर्ने मृगौलाका बिरामीहरुलाईसमेत घर आगनमै सहकज रुपमा सेवा उपलब्ध हुने भएपछि मिगौला बिरामीहरु हर्षित बनेका छन् ।
मृगौला प्रत्यारोपण गरी अहिले नियमित जीवन यापनमा फर्कनु भएका बर्दघाट १४ निवासी माधव तिवारीले डायलासिसका लागि टाढा जानू पर्दा आफुले निकै कष्ट भोग्नु परेको अस्पताल जादा जाँदैबीच बाटोमै कठिन अवस्थाबाट आफू गुज्रिएको तितो यथार्थ सुनाउँदै आगामी दिनमा डायलासिस सेवाले कयौं नागरिकले समयमै सेवा प्राप्त गरी पुनर्जीवन प्राप्त गर्ने बताए ।
बर्दघाट नगरपालिका भित्र मात्रै ५२ जना मृगौला पीडितले डायलाइसिस गराउँदै आएका छन् । अस्पतालको सेवावृद्धि गर्दै मृगौला पीडितलाई सेवा दिन लागि चार वटा डायलाइसिस मेसिन तयारी अवस्थामा रहेको अस्पताल विकास केन्द्रका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए । अभियान अन्तर्गत जिल्लामा रहेका सातै वटा पालिकाहरुलाईसमेत सेवा बिस्तारका लागि सहयोग गर्न अनुरोध गरी साँझा कार्यक्रम ल्याउनसमेत पहल गरिएको छ ।तत्कालका लागि सेवा सुचारु गर्न ३० देखि ३५ लाखको हाराहारीमा खर्च हुने बताइएको छ ।
२०६४ सालमा स्थापना भएको उक्त अस्पतालले प्रभावकारी रुममा गुणस्तरीय सेवा प्रवाह गर्न नसक्दा यहाँ रहेका सुबिधा सम्पन्न भौतिक सम्रचनाहरु उपयोग विहीन जस्तै बन्न पुगेका छन ।डायलासिस सेवासँगै ओटिसहितको बर्थिङ सेन्टर समेत सञ्चालग गर्ने समेत अभियानको उदेश्य रहेको छ ।बर्दघाट नगरपालिकाको कार्यपालिका बैठकले अभियानका निम्ति कार्यदल समिति गठनको निर्णय पारित गरी अभियान सुरु गरिएको हो ।आर्थिक संकलन अभियानको सुरुवातमा आम नागरिकहरूले उत्साहापुर्ण रुपमा सहयोग गरेका छ्न ।