© २०२३
सुर्खेत, ८ जेठ ।
सुर्खेत विमानस्थलको धावनमार्ग शनिबारसम्मका लागि बन्द गरिएको छ । धावनमार्गमा जमिन मुनिबाट पानी निस्किएपछि विमानस्थल बन्द गरिएको छ । मंगलबारदेखि उक्त विमानस्थलबाट उडान ठप्प बनेको छ । विमानस्थल प्रमुख हिराजन काफ्लेले मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको देखिएको बताए । उक्त खाल्डो पुर्ने काम भइरहेको बेला सोही दिन पुनःनजिकै जमिन मुनिबाट पानी निस्किएको उनले बताए । शनिबारसम्म सबै काम सक्ने गरी काम भइरहेको उनले बताए । धावनमार्गको काम सकिएपछि पुनः सञ्चालनमा आउने उनले बताए ।
अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए । विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नु पर्ने अवस्था सिर्जना भएको छ । अहिले भासिएको क्षेत्रमा धावनमार्ग विस्तार गर्ने तयारी पनि रहेको छ ।