© २०२३
बुटवल, ६ जेठ । ४३ दिनदेखि लागेको होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको कार्यालयमा लागेको ताला मंगलबार खोलिएको छ । चैत २४ र २५ गते हुने अधिवेसनको पूर्व सन्ध्यामा विवादका कारण लगाईएको ताला ईलाका प्रशासन कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष प्रदिप श्रेष्ठ सहित संघका अध्यक्ष लेखनाथ भण्डारी, अन्य पदाधिकारी, पत्रकारहरुको रोहबरमा खोलिएको हो ।
संघको १२ औ अधिवेसन तथा २४ औ साधारण सभाको तयारीकै क्रममा उम्मेदबारी दर्ताको क्रममा विवाद भएपनि चैत २० गते वरिष्ठ उपाध्यक्ष माधव खनालसहितको ब्यवसायीबाट तालाबन्दी भएको संघका अध्यक्ष लेखनाथ खनालको आरोप छ । सल्लाहकारसहितको धेरै चरणमा बैठक बसेपनि समाधान निस्कन नसकेपछि प्रशासनको रोहबरमा कार्यालय सुचारु गर्न ताला खोलिएको अध्यक्ष लेखनाथ भण्डारीले बताए । गत २३ गते कार्यसमितिको बैठकमा वरिष्ठ उपाध्यक्ष खनालबाट तालामात्र नलगाई कागजपत्र खोलामा फालेको बताएको उनले आरोप लगाए । ताला खोली हेर्दा कागजपत्र नभेटिएको हुदा अब कानुनीविदको सल्लाह अनुसार आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए ।
संघमा कुल २१ पदका लागि नया नेतृत्व सर्वसम्मत बनाउन आन्तरिक रुपमा भएको भद्र सहमती कार्यान्वनमा चुक्दा अधिवेसन अन्यौलमा परेको थियो । जिल्ला प्रशासन कार्यालयमा अध्यक्ष भण्डारीले उजुरी हालेपछि सहायक जिल्ला अधिकारीबाट दुबै पक्षलाई बोलाएर आवश्यक प्रक्रियालाई अघि बढाउन आग्रह गरिएपनि त्यो सफल हुन सकेको थिएन । हाल संस्थामा ९ सय २२ जना सदस्यहरु आवद्ध छन ।