© 2026
गुल्मी ।
गाउँघरमा खेतीयोग्य जमिन बाँझिँदै गएको र रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका बेला छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महतले व्यावसायिक सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गर्दै आइरहेकी छन् ।
पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने र रोजगारी खोज्ने क्रम बढिरहेका बेला मेहनत गरेर गाउँमै बाँझो जग्गाको सदुपयोग गर्दै फूलखेतीलाई आम्दानीको भरपर्दो माध्यम बनाएकी छन् । उनले विगत पाँच वर्षदेखि तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएकी छन् ।
स्थानीयसँग वार्षिक पाँच हजार रूपैयाँ भाडा तिर्ने गरी जग्गा लिएर उनले पाँच वर्ष अघिदेखि फूलखेती सुरु गरेकी हुन् । भारतको गोरखपुरबाट ८० हजार रूपैयाँको बीउ खरिद गरी सुरु गरिएको खेती अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । उनको फूलखेती गाउँमै कृषि उद्यमशीलताको राम्रो उदाहरण समेत बनेको छ ।
लक्ष्मीले उत्पादन गरेको फूलको बजार व्यवस्थापनमा पनि समस्या छैन । स्थानीय बलेटक्सार स्थित पैंचो पसलले उनले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । उक्त पसलले थोकमा प्रतिकिलो २सय २० रूपैयाँका दरले १५ क्विन्टल फूल खरिद गरी लगिसकेको छ । उनले थोकमा प्रतिकिलो २सय २० र खुद्रामा २सय ५० रूपैयाँका दरले फूल बिक्री गर्दै आएको बताइन् ।
गत वर्ष तीन लाख ५० हजार रूपैयाँको फूल बिक्री गरेकी महत्राले यस वर्ष उत्पादन बढेकाले आम्दानी समेत बढ्ेको बताइन् । स्थानीय बजारमा तिहारका लागि अझै थप तीन क्विन्टल फूलको माग आएको उनले सुनाइन् । यस वर्ष फूलखेतीबाट मात्रै करिब चार लाख लाख रूपैयाँ आम्दानी हुने उनको अनुमान छ ।
महत्रा अनुसार सयपत्री फूलखेती सुरु गरेको करिब ९० दिनमा उत्पादन लिन सकिन्छ । बीउ रोपेको एक महिना जतिमा बिरुवा तयार भएपछि ब्याडबाट निकालेर बारीमा रोप्ने गरिन्छ । बिरुवालाई आवश्यक मल, पानी र नियमित स्याहार गर्न सके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ ।
अन्य कृषि उपजको तुलनामा फूलखेतीमा जोखिम कम र आम्दानी राम्रो हुने उनले बताएकी छन् । बाँदरबाट क्षति नहुने र छिट्टै कुहिएर नजाने भएका कारण पनि फूलखेती प्रति आकर्षण बढेको उनले बताईन् । फूलमा ढुसी लाग्ने, मुना मर्ने तथा किरा र पुतलीको प्रकोप देखिने समस्या भए पनि समयमै मलजल, भिटामिन र आवश्यक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको अनुभव छ ।
लक्ष्मीको फूलबारीमा ढकमक्क फुलेका सयपत्रीले उत्पादन र आम्दानी मात्रै बढाएका छैनन्, गाउँको आकर्षण समेत बढाएका छन् । फूलबारीमा तस्बिर खिच्न तथा टिकटक बनाउन आउनेको पनि भीड लाग्ने गरेको छ । तस्बिर तथा भिडियो खिच्ने क्रममा केही फूल भाँचिए पनि त्यसले आफूलाई दुःखीभन्दा खुसी बनाउने गरेको उनी बताउछिन् । उनको व्यवसायमा परिवारको पनि साथ र सहयोग मिलेको छ । उनलाई श्रीमान् र छोराबुहारीले फूलखेतीमा सहयोग गर्दै आएका छन् । गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ । इच्छा शक्ति, परिश्रम र उद्यमशीलता भए गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने उनी बताउँछिन् ।
बाँझो जमिनको सदुपयोग गरी सुरु गरिएको उनको फूलखेती यतिबेला स्थानीय स्तरमै रोजगारी सिर्जना र कृषि उद्यमशीलताको गतिलो उदाहरण समेत बनेको छ ।