Butwal Today

बिदामा विद्यार्थीलाई अतिरिक्त कक्षा, किमुचौरमा निःशुल्क पठनपाठन

९ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

सल्यान ।

दसैँ, तिहार तथा छठ पर्व बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न भन्दै सल्यानको एक सामुदायिक विद्यालयले अतिरिक्त कक्षा सुरु गरेको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका–४, किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको हो । विद्यालयले सोमबारबाट बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक पुनले जानकारी दिए ।

छठसम्म नै बिदा रहेको भएता पनि विद्यालय व्यवस्थापन समितिले दसैँअघि नै बैठकबाट निर्णय गरी अतिरिक्त कक्षा सञ्चालनको तयारी गरेको थियो । अध्यक्ष पुनका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने कक्षामा मुख्य रूपमा अंग्रेजी, गणित र विज्ञान विषयको पठनपाठन गराइनेछ ।

विद्यार्थीको सिकाइमा देखिएका कमजोरी सुधार गर्ने, विषयवस्तुको बुझाइ बलियो बनाउने र शैक्षिक उपलब्धि बढाउने उद्देश्यले अतिरिक्त कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । बिदाको समयमा पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिने विद्यालयको यो पहलले नियमित कक्षामा पर्याप्त अभ्यास गर्न नपाएका विद्यार्थीलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अतिरिक्त कक्षा सञ्चालनका लागि विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट आवश्यक जनशक्तिको व्यवस्थापन गरेको छ । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर भण्डारीका अनुसार दसैँ९तिहार र छठको बिदा रहे पनि विद्यार्थीको सिकाइ सुधारलाई ध्यानमा राखेर बिदाकै समयमा अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।

विद्यालयले सम्पूर्ण विद्यार्थीलाई नियमित रूपमा अतिरिक्त कक्षामा सहभागी हुन आग्रह गरेको छ । साथै, अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाएर यो अवसरको सदुपयोग गराउन अनुरोध गरेको छ । नेरामावि किमुचौरमा कक्षा १० सम्म ४०२ जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?