© 2026
काठमाडौँ । बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। विजयादशमीका दिन टीका लगाउन छुटेकाहरूले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिन सक्नेछन्। दसैँघर वा पूजाकोठामा नौ दिनसम्म विधिपूर्वक पूजा–आराधना गरिएको प्रसाद विजयादशमीका दिनदेखि ग्रहण गर्ने धार्मिक परम्परा छ। आश्विन शुक्ल दशमीका दिन दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने गरिन्छ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलबाट वैदिक विधिअनुसार अभिषेक गरी टीका लगाउने परम्परा रहिआएको छ। नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरी देवी विसर्जन गरेपछि सुरु हुने टीका र आशीर्वाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिन आफन्तकहाँ पुगेर टीका लगाउन छुटेकाहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्छन्। दसैँमा परिवारका सदस्य तथा आफन्तजन भेला भएर टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै भेटघाट र पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ।