© 2026
बुटवल ।
हिन्दुहरुले नवरात्रको नौं दिनसम्म विशेषरुपमा दुर्गा पुजा गर्छन । दुर्गा पुजाकै अवसरमा यतिबेला रुपन्देहीका गाउँ गाउँमा दुर्गा पूजाको रौनक छ । बुटवल, भैरहवा जस्ता ठूला सहरदेखि गाउँ गाउँमा दुर्गा पुजा गर्ने गरिन्छ । विशेष थारु समुदायका गाउँहरुमा दुर्गा मुर्ति ल्याएर नौं दिन दुर्गा पुजा गरिन्छ ।
धर्म संस्कृति संरक्षण गर्नु राम्रो हो तर दुर्गाको नाममा विकृति भित्रिने चिन्ता पनि ब्यक्त गरिएको छ ।
दुर्गा पुजाको नाममा रातभर नाचगान गर्ने, गाउँ नै थर्काउने गरि माईक लगाउने, एउटा गाउँबाट अर्को गाउँमा दुर्गा पुजा हेर्न जाने र त्योसंगै युवाहरु मादक पदार्थ सेवन झगडा समेत गर्ने अवस्था आएको भन्दै थारु समुदायका संस्कृतिप्रेमीहरुले चिन्ता प्रकट गरेका छन् ।
थारु भाषाका कवि बमबहादुर थारु दुर्गा पुजा गर्नु राम्रो हो भन्नुहुन्छ तर त्यसको बहानामा रातभरि होहल्ला गर्ने, माईक लगाएर नाचगान गर्ने, युवाहरु विभिन्न लतमा लाग्ने अवस्था आउन लागेको भन्दै चिन्ता प्रकट गरे ।
‘जिल्लाको दूरदराजका गाउँबस्तीसम्मै बिहान र साँझमा दुर्गा देवीका भजन गुन्जिएका छन् । तराईमा यो वर्ष दुर्गा पूजाको रौनक गत वर्षभन्दा धेरै बढेको छ । यो राम्रो हो तर यसका नाममा नराम्रो प्रवृत्ति भित्रिनु भएन’ चौधरीको तर्क छ ।
तराईका गाउँमा घटस्थापनाको दिन दुर्गा स्थापना गरेर दसैँको १० दिनसम्म दुर्गा पूजा गर्ने परम्परा वर्षाैंदेखि चलिआएको परम्परा हो । नवरात्रको नौ दिन देवी दुर्गाका मूर्तिसँगै गणेश, कार्तिकेय, सरस्वती र लक्ष्मीका मूर्ति स्थापना गरी पूजा गर्ने मान्यता तराईमा छ ।
रुपन्देहीको कोटिहवा, सियारी, भगलापुर, पुरैनी, फर्साटिकर, मानपकडी, सिसै, लेडुवा, भड्छा, बक्सड, रुद्रपुर, सूर्यपुरा लगायतका स्थानमा दुर्गा मूर्ति स्थापना गरेर दुर्गा पूजा गर्ने गरिएको छ ।
रुपन्देहीका थारु अगुवा केवलप्रसाद चौधरी तराईमा वर्षौंदेखि बिहान र साँझमा पूजा गर्ने र दुर्गाका भजनमा नाचगान गर्ने परम्परा रहेको र त्यो परम्परा अहिले झनै बढेको बताउँछन । यसैगरी दुर्गा स्थापनाको सातौँ दिन सप्तमीको दिन दुर्गाको मुख खोल्ने (पट्टी) खोल्ने प्रचलन छ ।
घटस्थापनाको दिन ल्याइने दुर्गा माता मूर्तिको मुख बन्द गरिएको हुन्छ र सप्तमीका दिन मात्र खोलिन्छ । यसरी मुख खोल्दा पैसा बढाबढ गरेर जसले बढी पैसा कबुल गर्छ उसैले पट्टी खोल्ने परम्परा पनि छ ।
पछिल्लो समय जसले धेरै पैसा दिन्छ उसैले पहिलो पटक दुर्गाको मुख हेर्ने (पट्टी खोल्ने) गरिँदा ऐतिहासिक दुर्गा पूजाको परम्परा र सांस्कृतिक महत्वलाई पैसासँग साटिएकोमा धेरैको चित्त बुझेको छैन ।
थारु कल्याणकारी सभा रुपन्देहीका सल्लाहकार दुलबहादुर चौधरी वर्षौंदेखिको दुर्गा माताको पूजा र भजन परम्परामा बिचमा पैसा घुसाएर दुर्गा पूजाको सांस्कृतिक महत्वलाई ओझेल बनाउन खोजिएको भन्दै गलत प्रवृत्ति र परम्परा हटाउनुपर्ने बताए । उनका अनुसार दुर्गा पुजा सुरु भएपछि एक गाउँका युवा अर्को गाउँ जाने, गलत प्रवृत्तिमा लाग्ने, रातभर नाचगानका नाममा गर्न नहुने काम समेत भैरहेकोले यसमा सुधार गरेर लैजानुपर्ने बताउँछन ।