Butwal Today

लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा सांस्कृतिक कार्यक्रम हुँदै 

२ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

कतार ।

लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा बडादसैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

कतारमा स्थापित लुम्बिनी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी शुक्रवार प्लाजा मलस्थित मेसक्याफे रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि सुरु हुने परिषद्ले जनाएको छ ।

नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै कतारमा रहेका नेपालीहरूबिच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालीहरूको महान् चाड बडादसैँसहित तिहार, छठ तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदानसमेत गरिनेछ ।

कार्यक्रममा साङ्गीतिक प्रस्तुतिका लागि नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका सुनिता सुनार कतार आउने भएकी छिन् । उनको साङ्गीतिक प्रस्तुतिसँगै कतारमा रहेका स्थानीय नेपाली कलाकारहरूले समेत विविध सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति दिने परिषद्ले जनाएको छ ।

विदेशमा रहेर पनि नेपाली चाडपर्वलाई सामूहिक रूपमा मनाउने, नेपाली मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने तथा नयाँ पुस्तामाझ नेपाली सांस्कृतिक पहिचानको महत्त्व स्थापित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । परिषद्ले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई आपसी सद्भाव र एकता अभिवृद्धिमा योगदान पुर्‍याउन तथा कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?