© 2026
नवलपरासी ।
नेपाली काँग्रेसको उपसभापतिमा उद्योगी तथा व्यवसायी विनोद चौधरीको उदयले पार्टीले आर्थिक विकास, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिन खोजेको सन्देश दिएको चर्चा सुरु भएको छ । गगन थापाको नेतृत्वमा काँग्रेसले पुस्तान्तरण र पार्टी पुनर्गठनको सन्देश दिइरहेका बेला चौधरीको छलाङलाई आर्थिक क्षेत्रको अनुभव र राजनीतिक नेतृत्वबिचको समन्वयका रूपमा हेरिएको छ।
काँग्रेसको नयाँ नेतृत्व संरचनामा चौधरीको उपस्थितिले निजी क्षेत्रको अनुभवलाई पार्टीको आर्थिक नीति निर्माण र कार्यान्वयनसँग जोड्ने अपेक्षा गरिएको छ । मुलुकमा रोजगारीका अवसर सिर्जना गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, उत्पादन बढाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने,युवाहरूलाई उद्यममा प्रेरित गर्ने विषयमा उनको व्यावसायिक अनुभव उपयोगी हुन सक्ने देखिन्छ ।
चौधरीको व्यावसायिक पृष्ठभूमि र काँग्रेसको नयाँ नेतृत्वको सन्दर्भमा आर्थिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने विषयले महत्त्व पाएको देखिन्छ,उनी प्रति आम अपेक्षा पनि यही नै छ ।
मुलुकमा उत्पादन र उद्यमशीलता बढाउँदै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने तथा लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने विषय आर्थिक रूपान्तरणका प्रमुख आधार मानिन्छन् ।
निजी क्षेत्रको अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्न सके नीति निर्माण र कार्यान्वयनबीचको दूरी कम गर्न सहयोग पुग्न सक्छ । त्यसका लागि लगानीमैत्री नीति, आर्थिक सुशासन, उद्यमीलाई प्रोत्साहन र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ ।
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । यस्तो अवस्थामा व्यावसायिक क्षेत्रको अनुभव भएका व्यक्तिलाई पार्टीको शीर्ष नेतृत्वमा समेट्नु काँग्रेसको आर्थिक विकाससम्बन्धी दृष्टिकोणसँग जोडिएको राजनीतिक प्रयोगका रूपमा समेत हेरिएको छ । निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राख्दै आएको चौधरी बताउँछन् । मुख्य कुरा लगानी मात्रै नभै लगानीको सुरक्षाको वातावरण तयार हुनु पहिलो पक्ष भएको चौधरीले बताए ।
‘केही दिन अघि उद्योगीहरूलाई प्रधानमन्त्री ज्युले बोलाउनु भएको थियो, त्यहाँ मेरो उपस्थिति पनि थियो मैले आर्थिक विकासका लागि आफ्ना धारणाहरू स्पष्ट सँग राखेको थिएँ, म जुन भूमिकामा रहे पनि मेरो ध्येय भनेकै आर्थिक विकास रोजगारी नै हो जहाँ आम युवालाई जोड्न सकियोस् र नेपालमै बस्ने वातावरण बनाउन सकियोस्,यो बाहेक राजनीतिमा मेरो अरू कुनै स्वार्थ छैन’ चौधरीले भने । नेपालमा सयौँ विनोद चौधरी जन्मिएको हेर्न चाहेको उनको भनाई थियो । सबै बर्ग समुदाय र विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरूको सामूहिक ऐक्यबद्धता र योगदानले मात्रै सङ्गठन बलियो हुने उनको तर्क छ ।
उनले स्मरण गर्दै भन्छन् ‘नेपालमा आर्थिक उदारीकरणको नीति मुख्य रूपमा नेपाली काँग्रेसको सरकारले वि.सं. २०४८ सालपछि अघि बढाएको हो । त्यस बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए भने अर्थमन्त्री महेश आचार्य थिए । उहाँहरुको नीति वास्तवमै दूरगामी थियो र अहिलेको आवश्यकता पनि यही हो, नयाँ पुस्तालाई पनि हामीले यो बुझाउन सक्नु पर्छ’ ।
चौधरीको उदयलाई केवल नेतृत्व परिवर्तनका रूपमा मात्र नभई पार्टीको आर्थिक एजेन्डालाई थप प्राथमिकता दिने अवसरका रूपमा पनि विश्लेषण गरिएको छ । यद्यपि, यसले सार्थक परिणाम दिन नयाँ नेतृत्वले नीतिगत स्पष्टता, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक सुशासनका क्षेत्रमा कस्तो पहल गर्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।
चौधरीको व्यावसायिक अनुभवलाई पार्टीको नीतिगत योजनासँग जोड्न सके आर्थिक विकासका मुद्दालाई व्यवहारमा उतार्न सहयोग पुग्न सक्ने आम बुझाई पनि छ । त्यसका लागि निजी क्षेत्रको हितसँगै श्रमिकको अधिकार, उपभोक्ताको हित र सामाजिक न्यायबिच सन्तुलन कायम गर्नु पनि उत्तिकै आवश्यक हुनेछ ।
गगन थापाको नेतृत्वमा पुस्तान्तरण र सङ्गठनात्मक पुनर्गठनको सन्देश दिइरहेको काँग्रेसका लागि चौधरीको उपसभापतिमा आगमनले राजनीतिक नेतृत्व र आर्थिक क्षेत्रको अनुभवलाई एकै ठाउँमा जोड्ने अवसर सिर्जना गरेको विश्लेषण गरिएको छ ।
अब नयाँ नेतृत्वले आर्थिक समृद्धि, रोजगारी र लगानीका विषयलाई व्यवहारिक नीति तथा कार्यक्रममार्फत कसरी अघि बढाउँछ भन्ने समेत चासो बढेको छ भने अर्कातिर चौधरीले आफ्नो व्यावसायिक पृष्ठभूमिको अनुभवलाई कसरी पार्टीको नीति सँग जोड्छन् भन्ने समेत बहस सुरु भएको छ ।