© 2026
नवलपरासी ।
दसैँ नजिकिँदै गर्दा जग्गा कारोबार र आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसँग सम्बन्धित कामको चाप बढेको समयमा भूमि प्रशासन कार्यालय नवलपरासीमा कर्मचारी अभाव हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ भने जग्गासम्बन्धी काम लिएर कार्यालय पुग्ने सेवाग्राही साँझसम्म घाममा बसेर पालो कुर्न बाध्य भएका छन् ।
कार्यालयमा कर्मचारी अभावका कारण जग्गा किनबेच, नामसारी, लिखत पारित, जग्गाधनी प्रमाणपुर्जा, धितो रोक्का तथा फुकुवालगायतका काममा ढिलाइ भइरहेको सेवाग्राहीको गुनासो छ । सामान्य कामका लागि समेत घण्टौँ कुर्नुपर्ने र कतिपय अवस्थामा काम सम्पन्न नभएपछि पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
कार्यालयमा दैनिक एक सयभन्दा बढी सेवाग्राही विभिन्न काम लिएर आउने गरेका छन् । तर, सेवाग्राहीको चापअनुसार कर्मचारी व्यवस्थापन नहुँदा कामको चाप बढेको हो । विशेषगरी दसैँका लागि आवश्यक आर्थिक कारोबार गर्नुपर्ने तथा असोज मसान्तभित्र सम्पन्न गर्नुपर्ने व्यावसायिक र वित्तीय कामका लागि मालपोत कार्यालय पुग्ने सेवाग्राही बढी प्रभावित भएका छन् ।
सेवाग्राही तथा लेखापढी व्यवसायीले कर्मचारी अभावको समस्या समाधान गर्न कार्यालय प्रमुखले समयमै पहल नगरेको आरोप लगाएका छन् ।
उनीहरूका अनुसार सरुवा भएर जाने कर्मचारीलाई तत्काल रमाना दिने तर सरुवा भएर आउने कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित गराउन पहल नगर्दा सेवाप्रवाह प्रभावित भएको हो । एक लेखापढी व्यवसायीले सरुवा भएर आउने कर्मचारी कार्यालयमा हाजिर हुन आएपछि मात्रै सरुवा भएर जाने कर्मचारीलाई रमाना दिएको भए अहिलेको समस्या कम हुन सक्ने बताए । “सरुवा भएर जाने कर्मचारीलाई रमाना दिँदा आउने कर्मचारीको उपस्थितिबारे पनि ध्यान दिनुपथ्र्यो । कर्मचारी आउने र जाने प्रक्रियाबीच समन्वय नहुँदा सेवाग्राहीले दुःख पाएका छन्,” उनले भने ।
दसैँ नजिकिँदै गर्दा जग्गा कारोबार तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित कामका लागि मालपोत कार्यालय पुग्ने सेवाग्राहीको चाप बढेको छ । चाडपर्वका लागि आर्थिक व्यवस्थापन गर्न जग्गा किनबेच, नामसारी तथा धितो रोक्का–फुकुवालगायतका काम गर्नुपर्ने सेवाग्राही कर्मचारी अभावका कारण प्रभावित भएका छन् ।
असोज मसान्त नजिकिँदा व्यवसायीलाई बैंकिङ कारोबार, लेखापरीक्षण, राजस्व भुक्तानी तथा म्याद थपसँग सम्बन्धित कामसमेत सम्पन्न गर्नुपर्ने हुन्छ । यस्ता कामका लागि जग्गा धितो रोक्का वा फुकुवा गर्नुपर्ने अवस्थामा मालपोत कार्यालयको सेवा ढिलो हुँदा अन्य आर्थिक तथा प्रशासनिक प्रक्रिया पनि प्रभावित हुन सक्छन् ।
टाढाटाढाबाट जग्गासम्बन्धी काम लिएर कार्यालय पुग्ने नागरिकका लागि ढिलाइले थप आर्थिक भार सिर्जना गरेको छ । यातायात खर्च गरेर कार्यालय पुगेका सेवाग्राहीको काम एकै दिनमा सम्पन्न नहुँदा फेरि कार्यालय धाउनुपर्ने अवस्था छ । यसले समय, श्रम र खर्च बढाएको उनीहरू बताउँछन् ।
नागरिक समाजका सचिव अनिल अग्रहरीले सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखेर समयमै कर्मचारी व्यवस्थापन गर्नुपर्ने बताए । कर्मचारी अभावको समस्या समाधान गर्नुपर्ने समयमा त्यसतर्फ पर्याप्त गम्भीरता नदेखिएको उनको आरोप छ ।
“सेवाग्राहीले सहज रूपमा सेवा पाउनुपर्छ । कार्यालयमा कर्मचारी अभाव हुँदा नागरिकले घण्टौँ कुर्नुपर्ने र कामका लागि पटकपटक धाउनुपर्ने अवस्था आउनु राम्रो होइन,” उनले भने, “सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर आवश्यक कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”
उनले नागरिकलाई सरकारी सेवा सहज रूपमा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै मालपोत कार्यालयमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए । नागरिकको सम्पत्ति र जग्गासम्बन्धी महत्वपूर्ण अभिलेख व्यवस्थापन गर्ने कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या आउनुका साथै सरकारी निकायप्रति नागरिकको विश्वासमा समेत असर पर्न सक्ने उनको भनाइ छ ।
लेखापढी कानुन व्यवसायीका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्रीले पनि कर्मचारी अभावको समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय तथा विभागले आवश्यक पहल गर्नुपर्ने बताए । उनका अनुसार कार्यालयमा कर्मचारीको पर्याप्त व्यवस्था गर्नुका साथै सेवा प्रक्रियालाई व्यवस्थित बनाउने, सेवाग्राहीलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने र गुनासो सुनुवाइको प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।
“कर्मचारी व्यवस्थापनसँगै सेवा प्रक्रियालाई व्यवस्थित बनाउनुपर्छ । सेवाग्राहीले आफ्नो काम कहाँ र कसरी हुन्छ भन्ने जानकारी सहज रूपमा पाउनुपर्छ,” उनले भने, “समस्या देखिएमा त्यसको सुनुवाइ र समाधान गर्ने व्यवस्था पनि प्रभावकारी हुनुपर्छ । तर, यी काम अपेक्षाअनुसार हुन सकेका छैनन् ।”
यता भूमि प्रशासन कार्यालयका भूमि प्रशासन अधिकृत वसन्त कार्कीले सरुवा भएर जाने कर्मचारीले रमाना लिएर गइसकेको तर सरुवा भएर आउने कर्मचारी कार्यालयमा उपस्थित नभइसकेकाले सेवा प्रवाहमा समस्या देखिएको बताए ।
“सरुवा भएर जाने कर्मचारीहरू रमाना लिएर गइसक्नुभएको छ । आउने कर्मचारीहरू आइनपुग्दा केही समस्या देखिएको हो,” उनले भने, “यो समस्या धेरै दिनसम्म रहँदैन । सरुवा भएर आउने कर्मचारी छिट्टै आउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”
कार्कीले कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या देखिएको स्वीकार गर्दै सेवाग्राहीको कार्यालय आउने समयले पनि कामको चाप व्यवस्थापनमा प्रभाव पार्ने बताए ।
“कार्यालय बिहान ९ बजेदेखि नै खुल्छ । तर, सेवाग्राही पुरानै बानीअनुसार ११ बजेपछि मात्रै आउने गर्दा बिहानको समयमा कामको चाप कम र दिउँसो भीडभाड बढी हुने गरेको छ,” उनले भने ।
सेवाग्राहीले सामान्य कामका लागि पनि पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न, काम सम्पन्न हुने प्रक्रियाबारे स्पष्ट जानकारी उपलब्ध गराउन र गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।