Butwal Today

दसैँ–तिहारको बिदा: विद्यार्थीलाई संस्कृति र व्यवहारिक सिकाइ सिकाउनुहोस

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

गुल्मी । दसैँ–तिहारको लामो बिदालाई मनोरञ्जनसँगै संस्कार, संस्कृति र व्यवहारिक ज्ञान सिक्ने अवसरका रूपमा उपयोग गर्न घोर्ले माध्यमिक विद्यालयले अभिभावकलाई आग्रह गरेको छ। विद्यालयका सूचना अधिकारी फतबहादुर बस्नेतले दसैँ–तिहारको बिदामा आफ्ना बालबालिकालाई घरपरिवार, समाज, मौलिक संस्कृति, कृषि र परम्परागत जीवनशैलीसँग जोडिएका व्यवहारिक ज्ञान सिकाउन अभिभावकलाई सुझाव दिएका हुन्।

उनले विद्यार्थीका लागि दसैँ–तिहारको बिदामा सिक्नुपर्ने १० वटा विषय समेट्दै अभिभावक तथा विद्यार्थीलाई चाडपर्वको हार्दिक शुभकामना व्यक्त गरेका छन्। बस्नेतले बालबालिकालाई समाजमा रहेका मठमन्दिरमा हुने पूजाआजा अवलोकन गराई पूजाविधि र चाडपर्वको महत्त्व बुझाउन आग्रह गरेका छन्। साथै, भगवान् दुःखी र गरिबको सेवामा पनि भेटिने भावनात्मक तथा मानवीय शिक्षा दिनुपर्नेमा जोड दिएका छन्। त्यस्तै, आफन्त तथा नातागोतासँग भेटघाट गराउने, ठूलाबडालाई ढोगदर्शन गर्ने र पारिवारिक आत्मीयताको महत्त्व सिकाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।

दसैँमा जमरा राख्ने, तिहारमा तोरण बनाउने, रोटी तथा अचार तयार गर्ने, रोटेपिङ र खरका पिङ खेल्ने, सराय नाच तथा देउसीभैलोमा सहभागी हुनेजस्ता परम्परागत गतिविधिमा बालबालिकालाई सहभागी गराउन पनि उनले सुझाव दिएका छन्। उनका अनुसार यस्ता अभ्यासले नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्पराबारे प्रत्यक्ष ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछन्। ग्रामीण जीवनशैली र कृषिसम्बन्धी ज्ञान पनि बालबालिकाका लागि उत्तिकै महत्त्वपूर्ण रहेको बस्नेतको भनाइ छ। रातो माटो र कमेरोले घर लिपपोत गर्ने परम्परा चिनाउने, गोरुले खेतबारी जोतेको देखाउने, गाईभैँसी दुहेको अवलोकन गराउने तथा गाउँघरमा उत्पादन हुने तरकारी र बालीनालीबारे जानकारी दिने उनको सुझाव छ।

बालबालिकालाई दूध डेरीबाट मात्रै आउँछ भन्ने भ्रम नरहोस् र कोदो, फापरजस्ता बाली कसरी उत्पादन हुन्छन् भन्ने कुरा व्यवहारबाटै सिक्न सकून् भन्ने उद्देश्यले यस्ता गतिविधिमा सहभागी गराउनुपर्ने उनले बताएका छन्। खानपानको सन्दर्भमा पनि बजारमा पाइने मःम, पिज्जा, चाउमिन र चाउचाउमा मात्र निर्भर नभई कोदो तथा फापरको रोटी, भुटेको मकै र भटमासजस्ता परम्परागत परिकारको महत्त्व बुझाउन उनले अभिभावकलाई आग्रह गरेका छन्।

‘संस्कृति र सिकाइ किताबी ज्ञानभन्दा ठूलो हो’ भन्ने सन्देशसहित बस्नेतले दसैँ–तिहारको बिदालाई बालबालिकामा संस्कार, पारिवारिक सम्बन्ध, मौलिक संस्कृति र जीवनोपयोगी सीप विकास गर्ने अवसर बनाउनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?