© 2026
पाँच दिनसम्म काठमाडौंका चार स्थान र भैरहवामा पक्कुको स्वाद चखाइने
काठमाडौं । नेपाली मौलिक खानाको संरक्षण, रैथाने स्वादको प्रवर्द्धन तथा नेपाली आतिथ्य संस्कृतिको ब्रान्डिङ गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ गतेदेखि २९ गतेसम्म पाँच दिन सञ्चालन हुने फेस्टिभलमा नेपाली मौलिक परिकार पक्कुसहित विभिन्न खानाका परिकार प्रस्तुत गरिने आयोजकले जनाएको छ। प्रेसिडेन्ट बिजनेस ग्रुपका सञ्चालक तथा काठमाडौं जिल्ला होटल व्यवसायी संघका अध्यक्ष शंकर भण्डारीले शनिबार पत्रकार सम्मेलनमार्फत फेस्टिभलबारे जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्ट बिजनेस ग्रुपका आउटलेटमा पक्कुको मौलिक स्वाद, परम्परागत पाकविधि र नेपाली आतिथ्यताको अनुभव प्रदान गरिनेछ। काठमाडौंमा मात्र सीमित नराखी लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमार्फत पनि प्रेसिडेन्टको पक्कु प्रवर्द्धन गरिनेछ।
मौलिक परिकारको पहिचान स्थापित गर्ने लक्ष्य
नेपाली खानाको विविधतामध्ये पक्कु गाउँघरको परम्परागत पाककला र सांस्कृतिक जीवनसँग जोडिएको मौलिक परिकार हो। पुस्तौँदेखि नेपाली समाजमा प्रचलनमा रहेको यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुना र अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको समूहले जनाएको छ। प्रेसिडेन्ट बिजनेस ग्रुपले विगत तीन वर्षदेखि पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ। अघिल्ला संस्करणबाट प्राप्त अनुभव, ग्राहक तथा स्वादका पारखीबाट प्राप्त सुझाव र नेपाली मौलिक खानाप्रति बढ्दो आकर्षणले यस अभियानलाई निरन्तरता दिन प्रेरित गरेको समूहको भनाइ छ।
समूहका अनुसार पक्कु फेस्टिभल सीमित अवधिको खानाको उत्सव वा व्यावसायिक गतिविधि मात्र नभई नेपाली रैथाने परिकारको पहिचान स्थापित गर्ने, मौलिकता संरक्षण गर्ने र नयाँ पुस्तामा परम्परागत स्वाद तथा पाककला हस्तान्तरण गर्ने दीर्घकालीन अभियान हो। यस अभियानमार्फत नेपाली खानाको विविधतालाई विभिन्न समुदाय, भूगोल र पर्यटकीय गन्तव्यसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान विस्तार गर्ने लक्ष्य राखिएको छ।
पर्यटन प्रवर्द्धनमा मौलिक खानाको भूमिका
नेपालको पर्यटनको आकर्षण हिमाल, पहाड, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा मात्र सीमित छैन। यहाँको मौलिक खाना, पाककला, जीवनशैली र आतिथ्य परम्परा पनि पर्यटनका महत्वपूर्ण आधार हुन्। कुनै पनि गन्तव्यको पहिचान त्यहाँको प्राकृतिक सौन्दर्यसँगै स्थानीय स्वाद, संस्कृति र मानिसहरूले प्रदान गर्ने आतिथ्यबाट समेत स्थापित हुने समूहको बुझाइ छ।
नेपाली खानालाई व्यवस्थित रूपमा पहिचान, प्रस्तुति र ब्रान्डिङ गर्न सके पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने तथा स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पक्कुजस्ता मौलिक परिकारको व्यावसायिक प्रवर्द्धनले स्थानीय उत्पादनको माग बढाउन, कृषक तथा पशुपालकलाई बजारसँग जोड्न र खाद्य तथा सेवा क्षेत्रमा कार्यरत जनशक्तिका लागि अवसर सिर्जना गर्न सक्ने समूहको विश्वास छ। त्यसैले पक्कु फेस्टिभललाई स्वाद र उत्सवसँगै स्थानीय उत्पादन, उद्यमशीलता, रोजगारी र पर्यटनबीचको सम्बन्ध सुदृढ बनाउने अभियानका रूपमा अघि बढाइएको जनाइएको छ।
दुई दशकदेखि आतिथ्य व्यवसायमा सक्रिय
प्रेसिडेन्ट बिजनेस ग्रुप होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय रहँदै आएको समूह हो। समूहले ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मूल मान्यताका साथ खाना, सेवा, गुणस्तर, स्वच्छता र ग्राहकको विश्वासलाई व्यावसायिक यात्राको आधार बनाउँदै आएको जनाएको छ। समूहका अनुसार होटल तथा रेस्टुरेन्ट खाना र आवास उपलब्ध गराउने व्यावसायिक स्थल मात्र नभई संस्कृति, स्वाद, सेवा, रोजगारी र आतिथ्यताका प्रतिनिधि पनि हुन्। त्यसैले नेपाली मौलिक खानाको संरक्षण तथा प्रवर्द्धनलाई व्यावसायिक प्रतिबद्धतासँगै सामाजिक दायित्वका रूपमा लिइएको छ।
आफ्ना होटल तथा रेस्टुरेन्टलाई व्यवस्थित, गुणस्तरीय, सेवामुखी र दिगो व्यावसायिक प्रणालीअन्तर्गत सञ्चालन तथा विस्तार गर्ने लक्ष्य समूहले राखेको छ। व्यवसाय विस्तारसँगै सेवा गुणस्तरमा सुधार, दक्ष जनशक्तिको विकास र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्य रहेको जनाइएको छ।
३५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी
प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटमा हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको समूहले जनाएको छ। यो रोजगारीले सयौँ परिवारको जीविकोपार्जन, सीप विकास र आर्थिक आत्मनिर्भरतासँग सम्बन्ध राख्ने समूहको भनाइ छ। समूहले व्यवसाय विस्तारलाई लगानी र कारोबार वृद्धिमा मात्र सीमित नराखी रोजगारी सिर्जना, मानव संसाधन विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र जिम्मेवार उद्यमशीलतासँग जोडेर अघि बढाउने लक्ष्य लिएको छ।
यसै क्रममा रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालन गर्ने तयारी भइरहेको समूहले जनाएको छ। नयाँ आउटलेट सञ्चालनमा आएपछि स्थानीय बजारमा गुणस्तरीय सेवा तथा आतिथ्यताको पहुँच विस्तार हुनुका साथै थप रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य
प्रेसिडेन्ट बिजनेस ग्रुपले पक्कुलाई निश्चित समयको फेस्टिभलमा मात्र सीमित नराखी दीर्घकालीन ब्रान्डिङ, बजार विस्तार र प्रवर्द्धन अभियानका रूपमा अघि बढाउने लक्ष्य राखेको छ। नेपालका विभिन्न भूगोलमा प्रचलित मौलिक तथा रैथाने परिकारको पहिचान, संरक्षण, व्यावसायिकीकरण र अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्न निजी क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समूहको धारणा छ।
नेपाली खानाको मौलिकता जोगाउँदै आधुनिक प्रस्तुति, गुणस्तरीय सेवा, स्वच्छता र व्यावसायिक मापदण्डसँग जोड्न सके नेपाली परिकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान बनाउन सक्ने समूहले जनाएको छ। स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्याउने दीर्घकालीन दृष्टिकोणसहित पक्कु फेस्टिभललाई निरन्तरता दिइएको समूहको भनाइ छ। तेस्रो पक्कु फेस्टिभलसम्म आइपुग्दा ग्राहकबाट प्राप्त माया र विश्वास, पत्रकार तथा सञ्चारमाध्यमको साथ, शुभेच्छुकका सुझाव र नेपाली मौलिक खानाप्रतिको बढ्दो उत्साहलाई अभियानको महत्वपूर्ण ऊर्जा मानिएको समूहले जनाएको छ। फेस्टिभल सफल बनाउन सहयोग गर्ने ग्राहक, सञ्चारकर्मी, साझेदार, शुभेच्छुक तथा नेपाली मौलिक खानाका पारखीप्रति समूहले आभार व्यक्त गरेको छ।
नेपाली खानाको प्रवर्द्धन कुनै एक व्यवसाय वा संस्थाको मात्र दायित्व नभई सामूहिक सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र पर्यटनको सम्भावनासँग जोडिएको साझा जिम्मेवारी भएको उल्लेख गर्दै समूहले पक्कुको मौलिक स्वादमार्फत नेपाली संस्कृति र आतिथ्यताको पहिचानलाई अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ।