Butwal Today

टिकटको चिन्ता होइन, क्षमता विकासमा लाग्नुस् : रास्वपा महामन्त्री आचार्य

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

नेपालगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो क्षमता विकासमा लाग्न सुझाव दिएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राख्ने पार्टीका नेता तथा कार्यकर्तालाई अहिलेदेखि नै क्षमता विकासमा लाग्न सुझाव दिएका हुन् । उनले पालिका प्रमुख र उपप्रमुख बन्ने सपना देख्नेहरूले पदको आकांक्षा राख्नुभन्दा पहिले जनताको विश्वास जित्ने क्षमता विकास गर्नुपर्ने बताएका हुन् ।

रास्वपा बाँकेको शुक्रवार पार्टी कार्यालय उद्घाटनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै महामन्त्री आचार्यले अहिलेको राजनीति विगतको जस्तो सहज नरहेको बताए । जनता सचेत भइसकेको उल्लेख गर्दै उनले उम्मेदवार बन्ने आकांक्षीलाई जिम्मेवारी निर्वाह गर्न सक्ने गरी तयार हुन आग्रह गरे । “आगामी वैशाखपछि उत्तर दिने ठाउँमा तपाईंहरू नै हुनुहुन्छ, त्यसैले अहिलेदेखि नै आफ्नो क्षमता विकासमा लाग्नुस्,” आचार्यले भने । नवलपरासी, रुपन्देही, दाङ, बर्दिया हुँदै बाँकेसम्म आइपुग्दा धेरैजसो नेता तथा कार्यकर्तामा उम्मेदवारीकै विषयमा चिन्ता देखिएको उनको भनाइ थियो । तर, पार्टीमा उम्मेदवार बन्ने विषयलाई मात्रै प्राथमिकता दिनुभन्दा आफूलाई योग्य र सक्षम बनाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

महामन्त्री आचार्यले रास्वपामा आबद्ध हरेक व्यक्ति शिक्षित हुनुपर्ने बताए । तर शिक्षित भन्नाले विश्वविद्यालयको प्रमाणपत्र वा शैक्षिक डिग्रीलाई मात्रै बुझ्न नहुने उनको भनाइ थियो । कृषि, व्यवसाय, सामाजिक सेवा तथा अन्य क्षेत्रमा लामो समय काम गरेर अनुभव हासिल गरेका व्यक्तिको ज्ञान र योगदानलाई पनि शिक्षाकै रूपमा लिनुपर्ने उनले बताए ।“शिक्षित भनेको डिग्री मात्रै होइन, अनुभव पनि हो । कोही व्यक्ति औपचारिक रूपमा धेरै पढेको नहोला, तर उसले २० औँ वर्ष कृषि पेसा गरेर समाजमा योगदान दिएको होला। त्यो पनि शिक्षा हो,” उनले भने ।

रास्वपाको उम्मेदवार बन्न निश्चित तहसम्मको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने व्यवस्था पार्टीको रूपरेखामा नरहेको पनि आचार्यले स्पष्ट पारे । उनका अनुसार उम्मेदवारको योग्यता मूल्याङ्कन गर्दा औपचारिक शिक्षासँगै व्यावहारिक अनुभव, क्षमता र समाजमा पु¥याएको योगदानलाई पनि महत्त्व दिनुपर्छ । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधि र प्रक्रिया पालना गरिने महामन्त्री आचार्यले दाबी गरे। विधिबाहिर गएर कसैले पनि टिकट नपाउने उनको भनाइ थियो । टिकट वितरणमा आर्थिक लेनदेन वा अनियमितता भएको प्रमाण भेटिए सम्बन्धित व्यक्तिलाई उम्मेदवारीबाट वञ्चित गर्ने मात्र नभई पार्टीको साधारण सदस्यबाट समेत कारबाही गरिने उनले चेतावनी दिए । “यदि कतै कसैले टिकटको लागि लेनदेन गरेको वा टिकट बाँडेको प्रमाण ल्याउनुभयो भने त्यो व्यक्तिलाई टिकट नदिने मात्रै होइन, साधारण सदस्यबाट पनि कारबाही हुन्छ,” उनले भने ।

उनले कार्यकर्तालाई प्रश्न गर्दै पार्टीको विधि र प्रक्रिया पालना गर्न तयार हुन आग्रह गरे । उम्मेदवार छनोटमा पारदर्शिता र निष्पक्षता कायम गर्ने विषयलाई जोड दिँदै आचार्यले पार्टीको निर्णय प्रक्रियामा विधि नै प्रमुख आधार हुने बताए । महामन्त्री आचार्यले पार्टीका नेता तथा कार्यकर्तालाई आफूभन्दा माथिल्लो तहको नेतृत्वलाई समेत तथ्य र प्रमाणका आधारमा प्रश्न गर्न आग्रह गरे । नेतृत्वका गलत निर्णय वा कमजोरीबारे समयमै प्रश्न गर्न नसक्दा पुराना राजनीतिक दलमा समस्या बढेको उनको टिप्पणी थियो । “तपाईंहरू पनि तथ्यमा टेकेर प्रश्न गर्न नडराउनुस् । तर प्रश्नका लागि मात्रै प्रश्न नगर्नुस्,” उनले भने । पार्टीभित्र आलोचनात्मक चेत र प्रश्न गर्ने संस्कार आवश्यक रहेको उल्लेख गर्दै उनले प्रश्न गर्दा तथ्य, प्रमाण र विषयवस्तुको आधार लिनुपर्ने बताए । नेतृत्वलाई प्रश्न गर्न सक्ने वातावरणले पार्टीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

रास्वपा बाँकेको कार्यालय उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरेका करिब एक सयभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेको जनाइएको छ । कार्यक्रममा पार्टीको आगामी राजनीतिक दिशा, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट तथा पार्टीभित्रको विधि र प्रक्रियालगायत विषयमा छलफल भएको थियो । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई क्षमता विकास, जनतासँगको सम्बन्ध र जिम्मेवारी निर्वाह गर्ने तयारीमा लाग्न महामन्त्री आचार्यले आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?