© 2026
बाणगंगा ।
‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नारासहित विश्व दृष्टि दिवसको अवसरमा ‘आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार बहादुरगञ्जमा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द ९कालेबाबु० नारायणी आँखा अस्पतालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आँखा स्वास्थ्य प्रमुख डा. शमशेर थापाले लुम्बिनी प्रदेशमा आँखा अस्पताल तथा उपचार केन्द्रहरूको सङ्ख्या उल्लेख्य भए पनि अन्धोपनको समस्या अझै उच्च रहेको बताए । उनले आँखाको स्वास्थ्यप्रति सचेत रहन नियमित परीक्षण गराउनुपर्नेमा जोड दिँदै समयमै परीक्षण र उपचारले दृष्टि गुम्ने जोखिम कम गर्न सकिने बताए ।
त्यस्तै, नेत्ररोग विशेषज्ञ डा. सुलक्ष्मी कटुवालले आँखा शरीरको अत्यन्तै संवेदनशील अङ्ग भएकाले यसको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताइन् । समाजमा बालबालिकाको आँखा टेढो देखिनुलाई सामान्य लक्षणका रूपमा लिने गलत प्रवृत्ति रहेको उल्लेख गर्दै उनले यस्ता समस्यालाई बेवास्ता नगरी समयमै विशेषज्ञबाट जाँच गराउनुपर्नेमा जोड दिइन् ।
आँखा अस्पताल दाङ शाखाका उपसभापति रेशम थापाले नेपाल नेत्र ज्योति सङ्घले आँखा स्वास्थ्य सेवामा ठुलो योगदान पु¥याए पनि राज्यका जनप्रतिनिधि तथा नेतृत्व तहबाट अपेक्षित रूपमा यसको महत्त्व बुझ्न नसकिएको गुनासो गरे ।
कार्यक्रममा डा. किशोर सुब्बा र छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगञ्जकी व्यवस्थापक रितु पाण्डेले आँखा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा प्रकाश पार्दै सहजीकरण गरेका थिए ।
आँखामा देखिने समस्यालाई बेवास्ता गर्दा दृष्टि गुम्न सक्ने जोखिम रहने भएकाले नागरिकलाई समयमै परीक्षण र उपचारका लागि सचेत गराउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने सहभागीहरूले बताएका छन् । विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक अझै पनि आँखा स्वास्थ्य सेवाको पहुँचबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको अवस्थामा सञ्चार माध्यममार्फत जनचेतनामूलक सूचना तथा स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।