© 2026
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हावाहुरीले टनेलको प्लास्टिक च्यातिदिएपछि गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिकरूपमा निर्माण गरिएका करिब चार सय टनेल मध्य ८० वटा टनेलको प्लास्टिक च्यातिँदा गोलभेँडा खेतीमा ठूलो क्षति पुगेको हो ।
सत्यवती गाउँपािलका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार टनेलको प्लास्टिक च्यातिएपछि गालभँडो उत्पादनमा प्रत्यक्ष असर पुगेको छ । उक्त क्षेत्रमा करिब ४०० वटा टनेल रहेको र उक्त टनेलहरूमा अधिकाँश किसानले टनेल भित्र गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च र तिते करेला लगायतका तरकारी उत्पादन गर्दै आइरहेका छन् ।
एउटा टनेलबाट चारदेखि पाँच क्वीन्टलसम्म गोलभेँडा उत्पादन हुने त्यहाँका किसानहरू बताउँछन् । टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ । उक्त क्षेत्रमा सबैभन्दा बढी गोलभेँडा उत्पादन हुनेमा स्थानहरूमा कसिन्थला, क्वाङ, गेजा, लाटे र काउले लगायतका क्षेत्र पर्दछन् ।
ठूलोलुम्पेकमा उत्पादित तरकारी स्थानीय बजारसँगै बुटवलसम्म पुग्ने गरेको छ । किसानका अनुसार बजारमा गोलभेँडाको माग राम्रो रहे पनि पछिल्लो समय माग अनुसार उत्पादन पुराउन नसकिएको बताइएको छ । “हावाहुरीले एउटा टनेलबाट दुई क्विन्टलसम्म नोक्सा गर्दा किसानहरूको आठ लाख भन्दा बढीको गोलभेँडा क्षती गरेको छ,” वडाध्यक्ष त्रामु मगरले भने । उनले स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो ५० रूपैयाँदेखि ६० रूपैयाँसम्म र थोकमा ३५ देखि ४० रूपैयाँसम्म बिक्री हुने गरेको बताए ।
त्यहाँ उत्पादित गोलभेँडा स्थानीय बजारदेखि बुटवलसम्म खपत हुने गरेको छ । ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस र चेतमान राहडी लगायत किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् ।
वर्षातका कारण सडक अवरुद्ध हुँदा ठूलोलुम्पेकका किसानहरूलाई यतिबेला बजारसम्म तरकारी पु¥याउन समस्या उत्पन्न भएको छ । सामान्य अवस्थामा १५ मिनेट लाग्ने दूरीमा समेत अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरेर सङ्कलन केन्द्रसम्म तरकारी पुराउनु पर्ने बाध्यता छ ।
किसानलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सत्यवती गाउँपालिकाले बुटवलको कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा २८ नम्बरको सटर भाडामा लिएर तरकारीको व्यवस्थापन गर्दै आएको छ । विगत तीन वर्षदेखि गाउँपालिकाले उक्त सटरको भाडा समेत व्यहोर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए ।
तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उनको भनाई छ । जस अन्तर्गत कृषकहरूलाई प्रतिकिलो दुई रूपैयाँ र त्यसको व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल २० रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले बताए । गाउँपालिकाले बजारको सुनिश्चितता, उत्पादनमा आधारित अनुदान तथा कृषि सामग्री लयातका क्षेत्रमा सहयोग गर्न थालेसँगै त्यस क्षेत्रका कृषकहरू व्यावसायिकरूपमा तरकारी खेतीतर्फ आकर्षित बन्न थालेका हुन् ।