© 2026
लुम्बिनी । लुम्बिनी विकास कोषका जिम्मेवार पदमा स्थानीयलाई प्राथमिकता दिन माग गर्दै श्रम संस्कृति पार्टीले बाहिरबाट पदाधिकारी तथा कर्मचारी नियुक्त गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
श्रम संस्कृति पार्टी, लुम्बिनी साँस्कृतिक नगरपालिका कमिटीले सोमबार पत्रकार सम्मेलन गरी लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा स्थानीयको सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो । पार्टीका कार्यवाहक अध्यक्ष अब्दुल हासिम खानले लुम्बिनीमै बसोबास गर्ने योग्य जनशक्तिलाई अवसर नदिई बाहिरबाट अधिकारी ल्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
“लुम्बिनीका विषयमा स्थानीय जनताको भावना र आवश्यकता बुझ्ने व्यक्ति आवश्यक छ,” उनले भने, “स्थानीयलाई अवसर नदिई बाहिरबाट नियुक्ति गरिए त्यसको विरोधमा सशक्त रूपमा अघि बढ्छौँ।”
पार्टीले कर्मचारी नियुक्तिमा राजनीतिक पहुँचभन्दा खुला प्रतिस्पर्धा र योग्यतालाई आधार बनाउनुपर्ने माग गरेको छ । नगर कमिटी उपाध्यक्ष महबुब आलम मुसलमानले लुम्बिनीमा योग्य र पढेलेखेका स्थानीय जनशक्ति हुँदाहुँदै बाहिरबाट कर्मचारी तथा पदाधिकारी ल्याउने प्रवृत्ति रोक्नुपर्ने बताए ।
उनले लुम्बिनी विकास कोषले आफ्नो क्षेत्रभित्र ठूलो भूभाग समेटे पनि स्थानीयवासीले अपेक्षित विकासको अनुभूति गर्न नसकेको गुनासो गरे । कोषको व्यवस्थापन, सेवा प्रवाह र स्थानीयसँगको सम्बन्ध प्रभावकारी बनाउन स्थानीय जनतासँग नियमित संवाद आवश्यक रहेको उनको भनाइ छ । मुसलमानले केही वर्षअघि लुम्बिनीवासीको सुविधाका लागि ल्याइएको विद्युतीय बस प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै कोषको व्यवस्थापनप्रति प्रश्न उठाए । लुम्बिनी वरपरका बस्ती र क्षेत्रको विकासमा समेत कोषले ध्यान दिनुपर्ने उनले बताए ।
पार्टीका नगर सचिव रहिस आलम मुसलमानले कर्मचारी छनोटमा पारदर्शिता कायम गरी योग्य स्थानीयलाई अवसर दिनुपर्ने बताए । राजनीतिक सिफारिस वा पहुँचका आधारमा नियुक्ति स्वीकार्य नहुने उनको भनाइ छ ।
पार्टीले कोषअन्तर्गतका विकास निर्माणका काममा अनियमितता र कमिसनको चलखेल हुने गरेको आरोपसमेत लगाएको छ । एउटै सडकमा पटक–पटक बजेट खर्च गर्ने तथा निकटका व्यक्तिलाई काम दिने गरेको आरोप लगाए पनि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
पार्टीका नेता सब्बुदीन खानले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय महत्वअनुसार आधारभूत व्यवस्थापन सुधार हुन नसकेको बताए । लुम्बिनीमा पर्याप्त बत्ती, सरसफाइ र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको माग छ ।
पार्टीले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व संरक्षणसँगै स्थानीयको रोजगारी, प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने जनाएको छ ।
स्थानीयको माग सम्बोधन नगरी बाहिरबाट जिम्मेवार पदमा नियुक्ति गरिए स्थानीयलाई एकजुट गरी विरोध तथा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पार्टीले दिएको छ ।