© 2026
सल्यान। सल्यानमा विद्यालय जाँदै गरेकी १४ वर्षीया छात्रा भिरबाट खस्दा मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं २ मा विद्यालय जाने क्रममा भिरबाट लडेर १४ वर्षीया छात्राको मृत्यु भएको हो ।
छत्रेश्वरी गाउँपालिका, २ दहगाउँका जीवराज वलीकी छोरी प्रमिला वलीको भिरबाट लडेर मृत्यु भएको हो । जनता माध्यमिक विद्यालय गुराँसेमा कक्षा १० मा अध्ययनरत वली मंगलबार बिहान करिब ८ बजे विद्यालय जाने क्रममा दमदुरी जंगलमा भिरबाट लडेर करिब २५० मिटर तल खसेकी थिइन् ।
स्थानीयले अचेत अवस्थामा फेला पारेपछि उनका दाइ प्रकाश वलीलाई खबर गरेका थिए । उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायले जानकारी दिए ।
घटनालगत्तै उपचारका लागि लैजान एम्बुलेन्सको समेत व्यवस्था गरिएको भए पनि उद्धार गरी केही पर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पुष्टि भएको प्रहरी निरीक्षक रोकायले बताए ।
घटनाबारे वडा नम्बर २ का वडाध्यक्ष प्रेमबहादुर नेपालीले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमाचौर, इलाका प्रहरी कार्यालय थारमारे र जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । छात्राको मृत्युको शोकमा जनता माध्यमिक विद्यालय बुराँसे टाकुरीले मंगलबार नै बिद्यालयमा बिदा दिएको थियो ।