© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन सबैले ठूलो छाती बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बानियाँले पार्टीको गौरवपूर्ण इतिहास स्मरण गर्दै आगामी कार्यदिशाबारे स्पष्ट धारणा राखे ।
उनले पार्टीभित्रको आन्तरिक सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘पार्टीलाई नेतृत्व गर्दै हामीले नेपाललाई बदल्ने संकल्प गर्नुपर्छ, तर त्यसका लागि पहिले कांग्रेसलाई बदल्न जरुरी छ,’ उनले भने, ‘महामन्त्री गगन थापाले भन्नुभएझैँ पार्टीलाई थप समावेशी र एकताबद्ध बनाउन हामी सबैको छाती ठूलो हुनुपर्छ ।’
२००७ सालको क्रान्तिदेखि नै सक्रिय रहेको नेपाली कांग्रेस कुनै पनि बाह्य दबाब र प्रभावमा नपरी आफ्ना सिद्धान्तमा अडिग रहँदै आएको बानियाँले बताए ।
‘हामी जात वा धर्मका आधारमा होइन, मानवता र लोकतन्त्रको नातामा राजनीति गर्दै आएका छौँ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै हाम्रो मार्गनिर्देशक सिद्धान्त हो,’ उनले भने ।