Butwal Today

कांग्रेस बन्दसत्रका लागि तीन हल तयार : हिमाल, पहाड र तराई–मधेश

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि तीनवटा हल तयार पारेको छ ।

काठमाडौंको खुलामञ्च क्षेत्रमै तयार पारिएका ती हलको नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेश’ राखिएको छ । तीनवटै हलको मुख्य प्रवेशद्वारमाथि सम्बन्धित भौगोलिक क्षेत्रको विशेषता झल्काउने चित्र राखिएको छ ।

पार्टीको झण्डा र चुनाव चिह्नमा आधारित रहेर हलहरूलाई रातो, सेतो र हरियो रङको थिममा सजाइएको छ ।

आज उद्घाटन समारोह सम्पन्न भएपछि भोलि र पर्सि यही तीनवटा हलमा बन्दसत्र सञ्चालन हुनेछ । कांग्रेसका अनुसार बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । प्रत्येक हलमा करिब २ हजार ५ सय प्रतिनिधि अट्ने व्यवस्था मिलाइएको सूचना, सञ्चार तथा प्रविधि समिति सदस्य मोहन गजुरेलले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिहरूको सहजताका लागि प्रत्येक हलमा कुलर र पंखाको समेत व्यवस्था गरिएको छ ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा समूहमा विभाजित प्रतिनिधिहरूले छलफल गर्नेछन् भने छलफलपछि निष्कर्ष प्रस्तुत गरिने कार्यक्रम छ ।

बन्दसत्र सञ्चालन हुने प्रत्येक हलमा डिजिटल बोर्डसमेत राखिएको छ। एउटा हलमा भइरहेको छलफललाई अन्य हलमा रहेका प्रतिनिधिहरूले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने बन्दसत्रमा डिजिटल प्रविधिको प्रयोगले प्रतिवेदनमाथिको छलफललाई सहज रूपमा पछ्याउन सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?