Butwal Today

परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने ताकत कांग्रेससँग छ : पुष्पा भुसाल

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने ताकत आफ्नो पार्टीसँग रहेको बताएकी छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस परिवर्तनकारी शक्ति भएको बताएकी हुन् ।

‘कांग्रेस परिवर्तनकारी शक्ति हो । आम जनताले खोजेको परिवर्तनको नेतृत्व लिन सक्यो भने परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत पनि नेपाली कांग्रेसले राख्छ,’ उनले भनिन् ।

संविधान संशोधनसहित कतिपयले वर्तमान शासन व्यवस्थाका सन्दर्भमा आफ्ना धारणा राख्दै आएका छन् । कांग्रेसभित्र पनि धर्मनिरपेक्षतालगायतका विषयमा बेला–बेला बहस हुने गरेको छ ।

यही पृष्ठभूमिमा उपसभापति भुसालले कांग्रेस परिवर्तनकारी शक्ति भएकाले परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने सामर्थ्य पार्टीसँग रहेको बताएकी हुन् ।

साथै, गत वर्ष भएको जेनजी आन्दोलन र उक्त आन्दोलनले ल्याएको परिवर्तन तथा युवापुस्ताले चाहेको समाजको सपना पूरा गर्न पनि पार्टी प्रतिबद्ध रहेको उनले बताइन् ।

‘सुशासन, संविधान र कानुनभन्दा बाहिर गएर कांग्रेसले केही गर्दैन । हरेक नागरिकले अवसर प्राप्त गर्नुपर्छ भन्ने बीपीको विचारलाई शिरोधार गर्दै अगाडि बढ्छौँ,’ उनले भनिन्, ‘कांग्रेस नयाँ पुस्ताको सपना बोकेर अगाडि जान्छ । कांग्रेसले नै ४१ प्रतिशत जेनजीले खोजेको सुशासन र भ्रष्टाचार नियन्त्रण भएको समाजको कल्पना पूरा गर्न सक्छ ।’

महिलाका समग्र विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

उनले भनिन्, ‘हिंसामुक्त समाज, भयमुक्त राजनीति नै हाम्रो संकल्प हो ।’

विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा ७ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?