© 2026
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सुनको गरगहना चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे सन्धिखर्क नगरपालिका–१ बसपार्कस्थित हाटबजार क्षेत्रमा एक व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
घटनालगत्तै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेपछि खोजतलास तीव्र पारिएको थियो। खोजीका क्रममा बा १५ च १९२३ नम्बरको कारमा ५ जना तथा मधेश प्रदेश ०३–०३५ प १२५० नम्बरको मोटरसाइकलमा २ जना भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा–६ का २२ वर्षीय सुदीप चौधरी, पर्सा वीरगञ्ज–२० का ३४ वर्षीय राजकुमार राय, बारा बारागढी–३ का ३२ वर्षीय राजु प्रसाद साह र ४४ वर्षीय वीरेन्द्र राय, पर्सा वीरगञ्ज–२० का २८ वर्षीय खुबु राय सिंह पाण्डे, २१ वर्षीय विराजु राय, पर्सा पटेर्वा सुगौली–४ का २० वर्षीय अविनव राय तथा भारत बिहार आनन्दसागर पिपरहियाका १५ वर्षीय बालक रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेले बताएका छन्।। उनीहरू यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न भएरनभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।