Butwal Today

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल उपाधि नेपाल पुलिसलाई

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बुटवल । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

पुलिसले सभापोखरीमाथि २५–२३, २५–२३, २५–२२ को जित निकाल्यो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

लिग चरणदेखि सानदार प्रदर्शन गरेको सभापोखरी फाइनलमा भने निराश बन्यो । उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।
यस्तै विभागीय टोली एपिएफ क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको थियो ।

एपिएफले खैरामाथि १८–२५, २५–१९, २५–१३, २५–११ को जित निकाल्यो । तेस्रो भएको एपिएफले एक लाख ७५ हजार रुपियाँ पुरस्कार पायो ।

चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ हात पार्‍यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका पहल गहतराज घोषित भए । उनले १५ हजार रुपैयाँ पाए ।

यस्तै विधागततर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसका रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ठ ब्लकर, सभापोखरीका सन्तोष राई उत्कृष्ट डिफेन्डर र पुलिसका चन्द्र कुँवल उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले जनही आठ हजार रुपैयाँ हात पारे ।

 

प्रतियोगिताको विजेता टोली र खेलाडीलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री रामजी घिमिरे, पूर्व मन्त्री एवं नेकपा एमालेका छवीलाल विश्वकर्मा, प्रदेश सभासदस्य भोज प्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य लगायतले पुरस्कार प्रदान गरे ।

असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?