Butwal Today

सरकारलाई सांसद राईको प्रश्न – गिरिबन्धु र वाइड बडीका फाइल खोल्न के कुराले रोक्यो ?

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति कडा असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा मुद्दामा परिणाममुखी काम गरेर देखाउन चुनौती दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता गम्भीर विषयमा सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाए ।

सरकारले अघि सारेको सुशासनको प्रतिबद्धता नारामै सीमित भएको उनको भनाइ थियो । निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अलपत्र परेको तथा सरकारी विद्यालयको गुणस्तर खस्किँदै गएको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको बेथितिप्रति सरकारको ध्यानाकर्षण गराए ।

भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि प्रश्न उठाउँदै राईले दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिए । भ्रष्टाचारीमाथि कारबाही गर्ने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे ।

संसद्‌मा बोल्दै राईले भने, ‘गिरिबन्धु टी–स्टेट होस् वा वाइड बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्योरु लोकप्रियताका लागि मात्र बोल्ने हो ?’

सरकारको टालटुले नीतिको आलोचना गर्दै उनले भने, ‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ । आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्। आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन ।’

‘जेनजी’ आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाउँदै राईले सरकारको नियतमाथि प्रश्न उठाए । सदन बन्द रहेको अवस्थामा सङ्घीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि कुचेष्टा नगर्न सरकारलाई चेतावनी दिँदै उनले यस्ता कदमप्रति आफ्नो दल पूर्ण रूपमा सतर्क र सजग रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?