Butwal Today

रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो।

बुटवल रारा मसला उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण तथा परमादेशको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। अदालतले उद्योगबाट वातावरणीय प्रदूषण भए–नभएको विषयमा अन्तिम विवेचना हुन बाँकी रहेको जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न पत्राचार गरेको भए पनि तत्काल उद्योग बन्द गर्दा कच्चा पदार्थ तथा उत्पादित वस्तुको व्यवस्थापनमा समस्या पर्न सक्ने र उद्योगमा कार्यरत कर्मचारी तथा निवेदकको पेसा–व्यवसाय गर्न पाउने मौलिक हकमा प्रत्यक्ष असर पर्ने देखिएको आदेशमा उल्लेख छ।अदालतले ‘सुविधा र सन्तुलन’ को आधारमा यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको जनाएको छ।

बुटवल–११, सांग्रिला टोलका स्थानीयले उद्योगबाट वातावरणीय प्रदूषण भएको भन्दै बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत उजुरी परेपछि घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले असोज ५ गते उद्योग बन्द गर्न निर्देशन दिएको थियो। तर उद्योग बन्द गराउनुअघि कुन कानुनी आधारमा र कुन मापदण्ड उल्लंघनका कारण वातावरणीय असर परेको हो भन्ने विषय पत्रमा स्पष्ट नखुलाइएको भन्दै उद्योग सञ्चालक भुसाल अदालत पुगेका थिए।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कमलराज जोशी, राममणि भुजेल तथा अधिवक्ता गोविन्दप्रसाद मरासिनीले बहस गरेका थिए। जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक न्यायाधिवक्ता बसन्तराज पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका तर्फबाट उपन्यायाधिवक्ता ऋषिकेशव बस्याल तथा विपक्षी हरि कार्कीका तर्फबाट अधिवक्ताद्वय गोकर्णसिंह थापा र कृष्णप्रसाद पोखरेलले बहस गरेका थिए।

यसैबीच, मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले उद्योगमा पुगेर अनुगमनको धम्की दिएको र स्थानीयलाई समेत आन्दोलित गराएर उद्योगीलाई हतोत्साहित बनाएको आरोप लगाउँदै बुटवल उद्योग वाणिज्य संघले मंगलबार आपत्ति जनाएको छ। संघले संवेदनशील विषयमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?