Butwal Today

महिला उद्यमीका उत्पादन विश्व बजारमा पुर्‍याउने लक्ष्यसहित मेला हुँदै

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीय महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले तीनदिने महिला उद्यमी उत्पादन प्रदर्शनी मेला आयोजना गर्ने भएको छ। महानगरपालिकाका अनुसार असोज १६ देखि १८ गतेसम्म महानगरपालिका परिसरमा आयोजना हुने मेलामा हस्तकला, पश्मिना, ढाका कपडा, तयारी पोशाक तथा जैविक कृषि उपजलगायत सामग्री प्रदर्शन गरिनेछ। मेलामा हस्तकला निर्माण प्रक्रियाको प्रत्यक्ष अवलोकनसमेत गर्न सकिनेछ।

बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख मञ्जली शाक्यले स्थानीय महिला उद्यमीका उत्पादनलाई स्थानीय बजारमा पुर्‍याउने चरण पार भइसकेकाले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न मेलामार्फत नेटवर्किङ र सहकार्यको अवसर सिर्जना गर्न लागिएको बताइन्। उनले स्थानीय उत्पादनलाई ‘लोकलबाट ग्लोबल’ बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउँदै महिला उद्यमीका उत्पादनको बजार विस्तारमा मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

उपप्रमुख शाक्यका अनुसार मेलामा गुणस्तर, स्वच्छता र स्वास्थ्यलाई ध्यान दिएर उत्पादन गरिएका सामग्रीलाई प्राथमिकता दिइनेछ। उपभोक्ता स्वास्थ्यप्रति सचेत हुँदै गएकाले ब्रान्डिङ र बजार विस्तारको सम्भावना भएका उत्पादनलाई छनोट गरी प्रदर्शन गरिने उनले बताइन्। मेलाले महिला उद्यमीलाई आफ्ना उत्पादन प्रदर्शन गर्ने अवसरसँगै सम्भावित ग्राहक, व्यवसायी तथा अन्य बजार पक्षसँग प्रत्यक्ष सम्पर्क र सहकार्य गर्ने अवसरसमेत प्रदान गर्ने महानगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?