Butwal Today

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-
म्याग्दी ।
केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ ।
यही असोज ८ देखि ११ गतेसम्म परेको पानीपछि आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा लगिएको खानेपानीको पाइप बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुर्‍याएको छ । करिब १२ किलोमिटर पाइपलाइनमा बाढी र पहिरोका कारण क्षति हुँदा चार दिनदेखि रिठ्ठाखर्क र डाँडाखर्कको मुहानबाट खानेपानी आपूर्ति हुन नसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताए ।
“पानीका वैकल्पिक स्रोतको पहिचान गरी अस्थायी रूपमा पानी आपूर्ति गर्न संस्थाले प्रयास गरिरहेको छ”, उनले भने, “बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तीनै तहका सकारकाको सहयोग मागेका छौ ।”
संस्थामार्फत बेनी नगरपालिका–२ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार २१६ घर परिवारका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हँुदै आएको थियो । विसं २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो ।
रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हँुदै आएको छ । बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना निर्माण भए पनि बाढीले क्षति पु¥याएकाले सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष गिरीले बताए ।
बाढीले खानेपानीको पाइपमा क्षति पुर्‍याएरपछि उपभोक्ताले बोतल, जारको पानी किन्ने अथवा खोल्सा, मुहान र व्यक्तिगत मुहानबाट पानीको जोहो गर्नुपर्ने अवस्था छ । खानेपानीको सहज आपूर्ति नहुँदा पिउन, स्नान गर्न, कपडा, भाडाधुन, खाना पकाउने पानीका लागि धेरै समय खर्चनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?