Butwal Today

बुटवलमा असोज १६ देखि रमाइलो महोत्सव, ‘जेरो ग्रेभिटी’ मुख्य आकर्षण

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।

बुटवलमा दशैंको पूर्वसन्ध्यामा ‘रमाइलो महोत्सव’ आयोजना हुने भएको छ । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा असोज १६ देखि ३१ गतेसम्म देवीनगर रंगशालामा महोत्सव सञ्चालन हुने भएको हो ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको छ ।

बुटवलको सांस्कृतिक, मनोरञ्जनात्मक तथा व्यापारिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका अध्यक्ष विकल क्षेत्रीले बताए । उनका अनुसार महोत्सवको मुख्य आकर्षणका रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जेरो ग्रेभिटी’ तथा बुटवलमै पहिलोपटक आठ वटा ‘बिग बेन’ टावर राखिनेछ । यस्तै, हट एयर बेलुनसमेत सञ्चालन गरिनेछ ।

महोत्सवमा आउने दर्शक तथा अवलोकनकर्तालाई नयाँ र फरक किसिमको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यी विशेष आकर्षणहरू राख्न लागिएको क्षेत्रीले बताए ।

महोत्सवमा मनोरञ्जनसँगै विभिन्न प्रदर्शनी, व्यापारिक स्टल तथा अन्य आकर्षणहरू रहनेछन् । ‘जेरो ग्रेभिटी’ मुख्य आकर्षणका रूपमा रहनेछ भने ‘बिग बेन’ टावरले मेलास्थललाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ ।

महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ । साथै बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपहप डान्स प्रतियोगिता, टिकटक प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम तथा विशेष इभेन्ट आयोजना गरिने कार्यक्रम संयोजक टेकबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताका विजेता एसएमएस तथा भोटिङबाट नभई निर्णायकको छनोटका आधारमा घोषणा गरिनेछ ।

महोत्सवमा २५० भन्दा बढी स्टल रहने रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पालदेन घलानले जानकारी दिए । उनका अनुसार हालसम्म करिब २०० स्टल बुक भइसकेका छन् । स्टलमा कृषिजन्य तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचयपत्रका आधारमा ८० रुपैयाँ, सर्वसाधारणलाई १०० रुपैयाँ र विशेष इभेन्टका लागि ३०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

आयोजकले महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरेको छ । महोत्सवबाट हुने कुल नाफाको पाँच प्रतिशत रकम बाढीपीडितलाई प्रदान गरिने अध्यक्ष क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?