© 2026
बाँके । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज रङ्गशालाको निरीक्षण गरेका छन । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नेपालगञ्जमा सञ्चालन गर्ने गरी तयारी गरिएको उनले बताए । दशौँ राष्ट्रिय खेलकुदका लागि नेपालगञ्जमा उपलब्ध खेल पूर्वाधारको अवस्था र सम्भावित खेलस्थलको निरीक्षण गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव पौडेल नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
सुर्खेतमा प्रतियोगिताको पूर्वतयारीबारे स्थलगत जानकारी लिएर फर्किने क्रममा सचिव पौडेल, सहसचिव रमेश ढकालसहितको टोलीले नेपालगञ्ज रङ्गशालामा रहेका विभिन्न खेल पूर्वाधारको निरीक्षण गरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।टोलीले रङ्गशालाको मुख्य मैदान, पौडी पोखरी, सुटिङ रेन्ज, कभर्ड हललगायत संरचनाको अवलोकन गरेको थियो । निरीक्षणपछि नेपालगञ्जमा दशौँ राष्ट्रिय खेलकुदका करिब छ वटा खेल सञ्चालन गर्न सकिने सम्भावनाबारे छलफल भएको चन्दले बताए ।
निरीक्षणका क्रममा सचिव पौडेलले नेपालगञ्जमा रहेका खेल पूर्वाधारको प्रयोग र संरक्षणलाई समेत ध्यान दिएर प्रतियोगिताका सञ्चालनको तयारी अघि बढाउनुपर्नेमा जोड दिए। “नेपालगञ्जमा उपलब्ध खेल पूर्वाधारको अवस्था बुझेर राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सञ्चालन गर्न आवश्यक तयारी र व्यवस्थापनका विषयमा सम्बन्धित पक्षसँग समन्वय गरेर अघि बढ्नेछौँ”, उनले भने । सो अवसरमा कार्यालय प्रमुख चन्दले टोलीलाई नेपालगञ्ज रङ्गशालामा रहेका विभिन्न खेलस्थल, पूर्वाधार तथा तिनको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा ठूलो लगानीमा विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको थियो ।