Butwal Today

बाढीपहिरोले लुम्बिनीका १८ सडकखण्ड अवरुद्ध

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

लुम्बिनी। लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्यूठान, रोल्पा र अर्घाखाँचीका १८ सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार गुल्मीमा ७, पाल्पामा ५, प्यूठानमा ३, रोल्पामा २ र अर्घाखाँचीमा १ सडकखण्ड अवरुद्ध छन्।

सबैभन्दा बढी असर गुल्मी र पाल्पामा परेको छ। गुल्मीमा कालीगण्डकी करिडोरसहित रुद्रबेनी–वामीटक्सार, मदन भण्डारी सहायक राजमार्ग, तम्घास–रिडी र रिडी–वामीटक्सार सडकखण्डमा पहिरोले यातायात प्रभावित भएको छ। पाल्पामा रामपुर–आर्यभञ्ज्याङ, कालीगण्डकी करिडोर, सिद्धार्थ राजमार्ग, बुटवल–पोखरा सडकखण्ड तथा रामपुर–पिपलडाँडा सडकखण्ड अवरुद्ध छन्।

यस्तै, प्यूठानमा बाग्दुला–बाहाने, बाहाने–खवाङ र भालुवाङ–प्यूठान सडकखण्ड, रोल्पामा सहिदमार्ग र घोराही–होलेरी सडकखण्ड तथा अर्घाखाँचीमा गोरुसिङ्गे–अर्घाखाँची सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ। केही स्थानमा सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातार वर्षा भइरहेकाले तत्काल यातायात सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?