Butwal Today

लुम्बिनीमा वर्षाको वितण्डा : गुलरियाका १५ घर डुबानमा, सुस्ताका ४ सय जनाको उद्धार

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

रुपन्देही । लगातारको वर्षासँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी तथा डुबानको समस्या बढेको छ। बर्दियाको गुलरिया र पश्चिम नवलपरासीको सुस्तामा सयौँ परिवार प्रभावित भएका छन्। बर्दियाको गुलरियास्थित सर्जु नदीको सतह बढेपछि टपरा टोलका १५ कच्ची घर डुबानमा परेका छन्। घरमा पानी पसेपछि नगरपालिकाले प्रभावित परिवारलाई औद्योगिक ग्राममा सारेको छ। डुबानका कारण तीन घरका माटोका भित्ता भत्किएका छन्। यस्तै, गुलरिया–छेदापुरका पाँच कच्ची घरमा पानी पसेपछि स्थानीयलाई विद्यालयको हलमा राखिएको प्रहरीले जनाएको छ। बाँसगढी नगरपालिका–८ मा घरको भित्ता भत्किँदा च्यापिएर एउटा बंगुर मरेको छ।

सुस्ताका ४ सय जनालाई सुरक्षित स्थानमा सारियो

तीन दिनदेखि भइरहेको वर्षाका कारण नारायणी नदीको सतह बढेर पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बाढी पसेपछि १ सय ७२ परिवारका ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुई दिनसम्म उद्धार गरी बालबालिका, वृद्धवृद्धा तथा चौपायासमेत सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।

डुबानका कारण सुस्तास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा ब्यारेकसमेत प्रभावित भएको छ। नारायणी नदीले झोलुंगे पुलसम्म पुग्ने कच्ची सडक डुबाएपछि स्थानीयलाई गाउँबाट बाहिरिन समस्या भएको छ। सुस्ता हरेक वर्ष बाढीको चपेटामा पर्दै आएको भन्दै गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण आवश्यक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?