Butwal Today

प्रदेश भरी सडकदेखि विद्यालयसम्म उच्च सतर्कता

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।  असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि लुम्बिनी प्रदेशमा बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि सडक यातायात नियन्त्रणदेखि विद्यालय बन्द गर्नेसम्मको निर्णय गरिएको छ ।

सम्भावित विपत्लाई ध्यानमा राख्दै दाङमा पाँचवटा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ भने बुटवलसहित केही स्थानीय तहले दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र सतर्कता बढाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले प्रदेशका १२ वटै जिल्ला र १०९ स्थानीय तहलाई पत्राचार गरी विपत् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।
मन्त्रालयका निमित्त सचिव सुरेशचन्द्र आचार्यले विपत्पूर्व, विपत्को समयमा र विपद्पश्चात् गरिने कामलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको बताए ।

“प्रदेशका १२ जिल्ला र १०९ स्थानीय तहलाई नै पत्राचार गरेर सतर्कताका सबैखाले उपाय अपनाउन अनुरोध गरेका छौँ,” उनले भने ।
भारीदेखि अति भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय दाङले असोज ८ गतेदेखि लागू हुने गरी पाँचवटा सडकखण्डमा हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
बाढी, पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राखी यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

रातिको समयमा बन्द हुने सडकखण्डमा राप्ती राजमार्गको तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी र घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डको तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन् । प्रशासनले तोकिएको समयअघि नै यात्रा व्यवस्थापन गर्न र सडक बन्दसम्बन्धी सूचनाको पालना गर्न यात्रु तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तथा कपिलवस्तुका महाराजगन्ज र बुद्धभूमि नगरपालिकाले दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।विद्यार्थीको सुरक्षा र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले पठनपाठन स्थगन गरेका हुन् ।

दाङमा सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वार्टर भालुवाङले राप्ती नदीको तटीय क्षेत्रमा माइकिङ गर्दै नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । नदीमा पानीको सतह बढ्न सक्ने भएकाले माछा मार्न, दाउरा तान्न तथा गाईवस्तु चराउनसमेत नदी किनारमा नजान अनुरोध गरिएको छ ।

नदीको बहाव बढेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जान सशस्त्र प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयहरूले पनि स्थानीय जोखिमका आधारमा सतर्कता अपनाउन आग्रह गरेका छन् । नवलपरासीमा नदी तथा तटीय क्षेत्रमा रहेका बस्तीलाई विशेष सतर्क रहन, नाली तथा पानी थुनिने स्थान सफा राख्न र सम्भव भए धान तथा अन्य बाली सुरक्षित स्थानमा भित्र्याउन आग्रह गरिएको छ । दाङमा बाढी, पहिरो, डुबान र कटानको जोखिम रहेका क्षेत्रमा सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार राप्ती, बबईलगायत जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक सतर्कता अपनाइएको छ । मौसम तथा सडकको अवस्थाअनुसार थप निर्णय हुनसक्ने प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?