Butwal Today

गुल्मी कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

तम्घास ।  २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा कोचाकोच कैदीबन्दीहरू बस्न बाध्य छन् ।जिल्ला कारागार कार्यालय गुल्मीका जेलर मेघप्रसाद पोखरेलका अनुसार २५ जनाको क्षमता रहेको (ङ)बर्गको कारागारमा अहिले १०९ जना कैदीबन्दीहरू रहेका छन् ।

उनका अनुसार पुरुष १०१ जना र महिला ८ जना रहेका छन् । जस मध्ये थुनुवा २४ र कैदी ८५ जना गरी कुल १०९ जना कैदीबन्दी रहेका छन् ।
कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरू भोग्नुपरेको र कैदीबन्दीहरूलाई प्रयाप्त खेलमैदान नहुनु, आर्थिक पार्जनका लागि उधोगहरू खोल्नका लागि पनि समस्या भएको छ ।

कैदीबन्दीहरूका लागि सीप विकासका लागि प्रयाप्त खाली ठाउँ नहुँदा उनीहरूको इच्छा र चाहना अनुसार काम गर्ने वातावरण निर्माण गर्नमा थप समस्या झेल्नु परेको पोखरेलले बताए ।

कारागारमा प्रर्याप्त खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरूका लागि उचित ब्यबस्था हुनुपर्नेे उनको भनाइ छ । भवन जीर्ण हुनु र वाल भत्किदै जानुले पनि कैदीबन्दीलाई थप समस्या उत्पन्न भएको उनले बताए ।

जिल्ला कारागार गुल्मीमा सिनीयर अहेवको दरवन्दी भएपनि लामो समय सम्म कर्मचारी नहुँदा समस्या झेल्नु परेको थियो । २०७७ साल जेठ देखि कर्मचारी स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरूलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको थियो । विगतका दूई वर्षदेखि उक्त समस्या समाधान भएकाले अहिले कारागारमै स्वास्थ्य परीक्षण हुने गरेकाले सहज भएको छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो हुनुपर्नेमा जोड दिए । पछिल्लो समयमा जिल्ला कारागारमा केही सुधारहरू हुँदै गए पनि त्यो प्रर्याप्त नभएकाले राज्यले थप ध्यान दिनुपर्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?