© 2026
बाणगङ्गा ।
कुनै समय कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रमा छाडा चौपाया किसानका लागि ठूलो समस्या बनेको थियो । खेतमा लगाएको बाली जोगाउन किसान रातदिन खेतमै बस्नुपर्ने अवस्था थियो । छाडा चौपायाले बालीनाली नष्ट गर्ने मात्र होइन, सडकमा जथाभावी हिँड्दा दुर्घटनाको जोखिमसमेत बढाएको थियो । तर पछिल्ला वर्षमा छाडा चौपायाको व्यवस्थापन गर्न थालिएपछि किसान र यात्रुले केही राहत महसुस गर्न थालेका छन् । बाणगंगा नगरपालिका–८, मधुवनमा स्थापना गरिएको भागिरथी गौ संरक्षण विकास केन्द्रमार्फत छाडा चौपायालाई व्यवस्थित रूपमा राख्न थालिएपछि खेतबारीमा हुने क्षति घटेको किसानहरूको अनुभव छ ।
२०८१ असोज १४ गते बाणगंगा नगरपालिकाको मातहतमा भागिरथी गौ संरक्षण विकास केन्द्र दर्ता भएको हो । करिब ६५ बिघा क्षेत्रफलमा फैलिएको केन्द्रमा सुरुवाती चरणमा एक हजार दुई सयभन्दा बढी चौपाया राखिएका थिए । अहिले भने करिब सात सयभन्दा बढी चौपाया रहेको केन्द्रले जनाएको छ । छाडा चौपायालाई व्यवस्थापन गर्ने उद्देश्यले बाणगंगा–२ पिपरा, बाणगंगा–७ कपिलधाम र रामदत्तिवनधाम क्षेत्रमा समेत अस्थायी टहरा तथा टस निर्माण गरी केही चौपायालाई व्यवस्थापन गरिएको छ । छाडा चौपायाको समस्या कम भएपछि खेतीबाट हुने उत्पादनमा समेत सुधार आएको किसानहरू बताउँछन् ।
बाणगंगा–८ का किसान गोकर्ण खरेलका अनुसार केही वर्षअघिसम्म एक बिघा जमिनमा लगाएको गहुँ छाडा चौपायाले सखाप पारिदिँदा ५० किलोसम्म पनि उत्पादन घर भित्र्याउन मुस्किल हुन्थ्यो । अहिले भने त्यही जमिनबाट १५ देखि २० क्विन्टलसम्म गहुँ उत्पादन हुने गरेको उनी बताउँछन् ।
“पहिले खेतमा लगाएको बाली जोगाउनै मुस्किल थियो । चौपाया आएर बाली सखाप पार्थे,” खरेलले भने, “अहिले छाडा चौपायाको व्यवस्थापन भएपछि बाली जोगिएको छ । उत्पादन पनि राम्रो हुन थालेको छ ।”
उनका अनुसार किसानका लागि उत्पादन बढ्नु भनेको आम्दानी बढ्ने आशा पनि हो । बाली जोगिने अवस्था बनेपछि किसानमा खेतीप्रतिको उत्साहसमेत बढेको उनको भनाइ छ ।
बाणगंगा–६ भग्लापुरकी पौडेल गाईभैंसी फार्मकी सञ्चालक कमला पौडेलले पनि छाडा चौपायाका कारण विगतमा खेप्नुपरेको हैरानी अहिले धेरै कम भएको बताइन् ।
“पहिले धानको ब्याडमा चौपाया पसेर कुच्लिदिन्थे । रोपिसकेको धानबारीमा पसेर बाली लतारिदिन्थे,” उनले भनिन्, “करेसाबारीमा लगाएको सागसब्जीसमेत खाइदिने भएकाले निकै हैरानी थियो। अहिले त्यो समस्या धेरै कम भएको छ ।”
छाडा चौपायाको समस्या खेतबारीमा मात्र सीमित थिएन। सडकमा चौपाया जथाभावी हिँड्दा सवारी दुर्घटनाको जोखिमसमेत बढेको थियो । चौपाया व्यवस्थापनसँगै सडकमा हुने त्यस्ता जोखिम पनि केही घटेको स्थानीयको अनुभव छ ।
बाणगंगा–१ जितपुरका स्थानीय कृष्ण विश्वकर्माका अनुसार विगतमा सडकमा छाडा चौपाया बसेका कारण सवारी चालक तथा यात्रुले जोखिम मोल्नुपथ्र्यो । “छाडा चौपायाका कारण सडकमा धेरै दुर्घटना हुने गरेका थिए । अहिले चौपाया व्यवस्थापन भएपछि दुर्घटनाको जोखिम कम भएको छ,” उनले भने, “यसले सवारी साधन चलाउने र यात्रु दुवैलाई सहज भएको छ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख राजन ढकालका अनुसार बाणगंगा क्षेत्रमा छाडा चौपाया व्यवस्थापन गर्न थालिएपछि विगतका वर्षको तुलनामा सडकमा छाडा चौपायाको समस्या कम हुँदै गएको छ । उनका अनुसार छाडा चौपायाका कारण हुने सवारी दुर्घटनाको जोखिमसमेत घटेको छ र सडकमा आवतजावत गर्ने यात्रुलाई सहज भएको छ ।
बाणगंगा नगरपालिका–८ का वडाध्यक्ष बाबुराम अर्यालका अनुसार नगरका अन्य वडाको तुलनामा छाडा चौपायाबाट सबैभन्दा बढी क्षति वडा नम्बर ८ मा हुने गरेको थियो । किसान र स्थानीयवासीले निरन्तर समस्या राख्न थालेपछि चौपायाको व्यवस्थापनका लागि पहल गरिएको उनले बताए ।
“किसान र स्थानीयले निकै सास्ती खेप्नुपरेपछि छाडा चौपाया व्यवस्थापनतर्फ लागेका हौँ,” अर्यालले भने । भागिरथी गौ संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीका अनुसार गौशाला स्थापनापछि चौपाया व्यवस्थापनका लागि पक्की बाउन्ड्री, तारजाली, कार्यालय भवन, डिप बोरिङ, मलखात, पानीको फोहोरा, पोखरी तथा चौपाया र पराल राख्ने ट्रस निर्माण लगायतका संरचनामा २ करोड रूपैयाँभन्दा बढी खर्च भइसकेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ मा लुम्बिनी प्रदेशको सहरी विकास मन्त्रालयबाट ७५ लाख रूपैयाँको टेन्डर प्रक्रिया अघि बढेर गौशालाको नापजाँचसमेत भइसकेको उनले बताए ।
उनका अनुसार बाणगंगा र कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिका, रूपन्देहीको सिद्धार्थनगर र सैनामैना नगरपालिका तथा कञ्चन गाउँपालिकाले गौशाला व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।
त्यस्तै, रैनादेवी भक्तिभजन समूह, गौसेवक समूह सैनामैना, पशुपतिनगर आमा समूह, श्री दुर्गा पञ्चायन त्रिपुरेश्वर धाम, बाणगंगा–८ आमा समूह तथा त्रिलोक मार्ग आमा तथा महिला समूहले प्रत्येक शनिबार गौशालाका लागि घाँस सहयोग गर्दै आएको भण्डारीले बताए । गौ संरक्षण केन्द्र आम्दानीमुखी संस्था नभएकाले दैनिक व्यवस्थापनमा चुनौती रहेको अध्यक्ष भण्डारी बताउँछन् । गौशालामा रहेका चौपायाका लागि पर्याप्त चरिचरन क्षेत्रको अभावसँगै सिँचाइका लागि आवश्यक पाइपलाइन विस्तार गर्न आर्थिक समस्या रहेको उनले बताए ।
“गौशाला आम्दानी गर्ने संस्था होइन, संरक्षण गर्ने संस्था हो । त्यसैले समितिलाई निरन्तर काम गर्न कठिन भइरहेको छ,” भण्डारीले भने, “पर्याप्त चरिचरन क्षेत्र र सिँचाइको व्यवस्था गर्न सके व्यवस्थापन अझ सहज हुने थियो ।” उनले प्रत्येक स्थानीय तहमा आफ्नै क्षेत्रमा गौ संरक्षणको व्यवस्था गर्न सके छाडा चौपायाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहयोग पुग्ने बताए । गौशाला व्यवस्थापन समितिका उपाध्यक्ष तेजेन्द्र पौडेलका अनुसार किसानले आफ्नो खेती जोगाउन नसक्दा ठूलो पीडा भोग्दै आएका थिए । अहिले बाली जोगिने अवस्था बने पनि खेतमा बाँकी रहेको परालमा आगो लगाउने समस्या देखिन थालेको उनले बताए ।
“किसानहरू आफ्नो खेती नजोगिँदा पीडामा थिए। अहिले खेती जोगिएको छ,” पौडेलले भने, “तर कतिपयले परालमा खेतमै आगो लगाउने गरेका छन्। त्यसतर्फ पनि सचेत हुन आवश्यक छ ।”
उनका अनुसार केही व्यक्तिले रातारात चौपायालाई गौशाला बाहिर ल्याएर बाँधिदिने गरेको समेत भेटिएको छ । त्यस्ता गतिविधि नगर्न उनले आग्रह गरे ।
बाणगंगा नगरपालिकाका पशु शाखा प्रमुख ध्रुवराज ज्ञवालीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न संघसंस्थाबाट गौ संरक्षणका लागि करिब ५० लाख रूपैयाँ सहयोग प्राप्त भएको छ । संघीय सरकारबाट समेत पशु संरक्षणका लागि १० लाख ३५ हजार रूपैयाँ प्राप्त भएको उनले बताए ।
गौशालाको समय–समयमा अनुगमन गर्दै व्यवस्थापनको अवस्थाबारे जानकारी लिने गरिएको ज्ञवालीको भनाइ छ । नगरप्रमुख चक्रपाणी अर्यालका अनुसार भागिरथी गौ संरक्षण विकास केन्द्रमा छाडा तथा चोटपटक लागेका र असहाय चौपायालाई समेत राखिएको छ । छाडा चौपायाको दीर्घकालीन तथा दिगो व्यवस्थापनका लागि विभिन्न संघसंस्थासँग समन्वय र निरन्तर पहल भइरहेको उनले बताए ।
भागिरथी गौ संरक्षण विकास केन्द्रमा अहिले चौपाया राख्न सातवटा ट्रस, पराल र भुसा राख्न एक–एकवटा ट्रस, प्राङ्गारिक मल तथा गँड्यौला मल उत्पादनका लागि एक–एक सेट, पानीका लागि बोरिङ र पानीको फोहोरा एक–एकवटा तथा चौपायाले पानी पिउनका लागि दुईवटा पोखरी निर्माण गरिएको छ ।
गौशाला परिसरमा तारबार गरिएको छ । चौपायाको हेरचाह तथा संरक्षणका लागि १२ जना कर्मचारी र व्यवस्थापनका लागि ११ सदस्यीय समिति रहेको केन्द्रले जनाएको छ ।
गाईबाट उत्पादन हुने दूधसमेत बिक्री गरिँदै आएको छ। दूध डेरीमा तुलनात्मक रूपमा कम मूल्यमा बिक्री हुने र त्यसबाट प्राप्त रकम गौ संरक्षणमै खर्च गर्ने गरिएको समितिले जनाएको छ ।
अहिले गौशाला परिसरमा दानदाता स्मृति भवन निर्माण भइरहेको छ । त्यस्तै, करिब १९ धुर क्षेत्रफलमा सयपत्री फूलका बिरुवा समेत रोपिएको छ । छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालनमा आएपछि किसानको बालीमा हुने क्षति र सडकमा हुने जोखिम केही घटेको देखिए पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन । गौशालाको क्षमता, चरिचरन क्षेत्र, सिँचाइ तथा नियमित व्यवस्थापनका लागि आवश्यक स्रोतको अभाव अझै चुनौतीका रूपमा छन् ।