Butwal Today

मन्त्री पुनले गरे आधारभूत अस्पताल उद्घाटन

७ आश्विन २०८३, बुधबार
अ+
अ-

पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दीपेन्द्र पुन मगरले निस्दी गाउँपालिकामा निर्माण भएको आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । सङ्घीय सरकारको योजना तथा बजेटमा निर्माण भएको अस्पताल उद्घाटन गर्दै मन्त्री पुनले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति, औषधी तथा आवश्यक उपकरणको अभाव हुने समस्या रहेको बताए ।

मन्त्री पुनले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुविधा सम्पन्न र सहरी क्षेत्रलाई कार्यक्षेत्र बनाउन प्राथमिकता दिने प्रवृत्तिका कारण ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सकको अभाव हुने गरेको बताए । भवन निर्माण सम्पन्न भए पनि अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण, औषधी तथा अन्य सामग्रीको व्यवस्थापनमा सरकार केन्द्रित रहेको उनले बताए ।

निस्दीको आधारभूत अस्पतालमा तत्काल १ जना चिकित्सक र १ जना स्टाफ नर्सको व्यवस्था गर्ने प्रतिबद्धता मन्त्री पुनले व्यक्त गरे । ग्रामीण क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने अवस्था अन्त्य गर्न स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाइने उनले बताए ।

अस्पताल उद्घाटन कार्यक्रममा स्थानीयवासीले भने विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्य उपकरण र औषधीको नियमित व्यवस्था गर्न मन्त्री पुनसँग माग गरेका छन् । अस्पतालको भवन बने पनि आवश्यक जनशक्ति र उपकरण नहुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन हुन नसक्ने भएकाले सरकारले प्राथमिकताका साथ व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ ।

आधारभूत अस्पतालको भवन २८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७८ जेठ १३ गते रविना प्रकृति जेभी रूपन्देहीसँग १६ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणका क्रममा कच्ची सडकका कारण निर्माण सामग्री ढुवानीमा समस्या भएपछि निर्माण कम्पनीले पटक–पटक गरी चार पटक म्याद थप गरेको थियो ।

अस्पतालको भवन निर्माण सम्पन्न भएपछि अब सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनको काम चुनौतीका रूपमा रहेको छ । दुर्गम क्षेत्रमा अस्पतालको पहुँच विस्तार भए पनि पर्याप्त चिकित्सक, स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था हुन सके मात्र स्थानीयले त्यसको प्रत्यक्ष लाभ लिन सक्ने स्थानीयवासीको भनाइ छ ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, नेपाली कांग्रेसका सालिकराम पाण्डे तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितैरेलगायतले अस्पताल सञ्चालनसँगै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?