Butwal Today

लायन्स जोन २९ को प्रथम जोनल सल्लाहकार बैठक सम्पन्न

७ आश्विन २०८३, बुधबार
अ+
अ-

बुटवल ।

लायन्स डिष्ट्रिक्ट ३२५ पी, एरिया ४, रिजन १४ अन्तर्गत जोन २९ को प्रथम जोनल सल्लाहकार समिति बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकमा जोनअन्तर्गतका लायन्स क्लबहरूको सेवा गतिविधिलाई थप प्रभावकारी बनाउने, सदस्यता विस्तार गर्ने तथा नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको छ ।

बुटवल मिलनचोकस्थित दियालो फुडल्याण्डमा जोन चियरपर्सन लायन कमला बस्नेत कुँवरको उपस्थितिमा सम्पन्न बैठकमा एरिया चिफ लायन दीपक गौतम (MJF), रिजन चियरपर्सन लायन भरत गैरे, डिस्ट्रिक्ट प्रतिनिधि, पूर्व अध्यक्ष तथा जोन २९ अन्तर्गतका विभिन्न लायन्स क्लबका पदाधिकारी एवं लायन लिडरहरूको सहभागिता रहेको थियो ।

बैठकमा लायन्स क्लब अफ बुटवल सयपत्री, लायन्स क्लब अफ बुटवल समर्पण, लायन्स क्लब अफ बुटवल शुभपाइला र लायन्स क्लब अफ बुटवल इमर्जिङका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत २१ जना लायन लिडरहरूको उपस्थिति रहेको थियो ।

बैठकमा जोनअन्तर्गत रहेका क्लबहरूको वर्तमान अवस्था, आगामी सेवा कार्यक्रम, सदस्यता वृद्धि तथा सदस्यलाई संस्थासँग थप सक्रिय रूपमा जोड्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी क्लबहरूबीच आपसी समन्वय र सहकार्यलाई बलियो बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई थप परिणाममुखी बनाउने विषयमा सहभागीहरूले सुझाव प्रस्तुत गरेका थिए ।

सदस्यता विस्तार र नेतृत्व विकासलाई जोनको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउने, नयाँ सदस्यलाई संस्थाको उद्देश्य र सेवामूलक अभियानसँग जोड्ने तथा युवा नेतृत्वलाई प्रोत्साहन गर्ने विषयमा पनि बैठकमा विचार–विमर्श भएको थियो ।

त्यस्तै, जोनअन्तर्गतका क्लबहरूले सञ्चालन गर्ने सेवा गतिविधिहरूलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै समुदायमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिने विषयमा छलफल भएको थियो । क्लबहरूबीच अनुभव आदानप्रदान तथा संयुक्त रूपमा सेवा कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि सहभागीहरूले धारणा राखेका थिए ।

बैठकको अध्यक्षता गर्दै जोन चियरपर्सन लायन कमला बस्नेत कुँवरले जोन २९ लाई सक्रिय, एकताबद्ध र परिणाममुखी बनाउँदै सेवा अभियानलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउन सबै क्लब तथा लायन लिडरहरूको निरन्तर सहकार्य आवश्यक रहेको बताइन् । उनले बैठकबाट प्राप्त सुझाव र छलफललाई आगामी कार्यक्रम तथा कार्ययोजना निर्माणमा समेटिने बताइन् ।

बैठकले ‘Together We Serve • Together We Lead’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै सेवा, नेतृत्व र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जोन चियरपर्सन कुँवरले बैठकमा सहभागी एरिया चिफ, रिजन चियरपर्सन, डिस्ट्रिक्ट प्रतिनिधि, पूर्व अध्यक्ष तथा जोन २९ अन्तर्गतका सम्पूर्ण क्लबका अध्यक्ष एवं पदाधिकारीसहित उपस्थित २१ जना लायन लिडरहरूलाई समय, साथ, सुझाव र सक्रिय सहभागिताका लागि धन्यवाद व्यक्त गरिन् ।

जोन २९, रिजन १४, एरिया ४ र डिष्ट्रिक्ट ३२५ पी अन्तर्गतको सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै आगामी दिनमा सेवा गतिविधिलाई अझ व्यापक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?