Butwal Today

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

६ आश्विन २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद जगतप्रसाद जोशीले सभामुखमार्फत भजनी, कैलारीलगायत गाउँपालिकामा जनशक्ति र स्वास्थ्य उपकरणको अभाव रहेको भन्दै स्वास्थ्यमा समान पहुँचको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन ।

सांसद झबिलाल डुम्रेले स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा अस्पताल निर्माणका लागि आवश्यक समन्वयसहित जग्गा तथा बजेटको व्यवस्था गर्न अनुरोध गरे । । सांसद टुकाभद्रा हमालले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै स्वास्थ्य बिमा सबैको पहुँचमा ल्याउन माग गरिन् ।

सांसद जनकसिंह धामीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तनका कारण बाढीपहिरोसहित नेपालले व्यहोर्नुपरेको समस्या र जलवायु न्यायको विषयलाई प्राथमिकता साथ उठाइनुपर्ने धारणा व्यक्त गरे । ।

सांसद तौफिक अहमद खानले प्राकृतिक प्रकोपका कारण अपूरणीय जनधनको क्षति व्यहोर्नुपरेको विद्यमान अवस्थामा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दाले प्राथमिकता पाउने विश्वास व्यक्त गरे । ।

सांसद टीका सङ्ग्रौलाले बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणको गति सुस्त रहेको गुनासो गर्दै तीव्र रुपमा काम अघि बढाउन अनुरोध गरिन् ।  सांसद ठाकुरसिंह थारुले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण तथा जलवायु परिवर्तनको असरबारे सरकारको ध्यानाकर्षण गराए । । सांसद तारा विश्वकर्माले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न माग गरे ।

सांसद ताहिर अलि भाटले अतिरिक्त हुलाक प्रतिनिधि तथा पत्र वितरकलगायतको पारिश्रमिक अत्यन्त न्यून रहेको भन्दै सेवा सविधा वृद्धि गर्न माग गरे।  सांसद दीपकराज बोहराले कञ्चनपुर जिल्लाअन्तर्गत कृष्णपुर नगरपालिकाका विद्यार्थीले अहिले पनि शिक्षा र स्वास्थ्यका लागि जोखिम मोलेर असुरक्षित यात्रा गर्नुपरेको भनी सरकारको ध्यानाकर्षण गराए।

सांसद धनेन्द्र कार्कीले काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङ तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै यातायात क्षेत्रमा भएका विकृति र विसङ्गतिको नियन्त्रण, कडा अनुगमन तथा लापरबाही गर्नेलाई कारबाही गर्न माग गरे ।

सांसद धर्मराज केसीले मस्र्याङ्दी तटमा सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गरी आवश्यक व्यवस्थापन गर्न अनुरोध गरे  । सांसद नीतिमा भण्डारी कार्कीले रसुवाबाढी प्रभावित परिवारका हराएका व्यक्तिलाई बेपत्ता घोषणा गर्न तथा आवश्यक मनोपरामर्शको व्यवस्था गर्न माग गरे ।

सांसद निराशा चौधरी ९डगौरा० ले बाढी प्रभावित जनतालाई समयमा राहत उपलब्ध गराउन अनुरोध गरिन् । यसैगरी, सांसद निशा डाँगीले प्राकृतिक प्रकोपका मुलुकले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा प्रभावित क्षेत्रको शुक्ष्म रुपमा पहिचान गरी जोखिममा रहेका बस्ती तथा सडकको सुरक्षाका लागि तयारी अघि बढाउन सरकारको ध्यानाकर्षण गराए  ।

सांसद नीता घतानीले झापा जिल्लामा लागुऔषध कारोबारको जोखिम रहेको भन्दै सचेतना कार्यक्रम सञ्चालन तथा सीमावर्ती नाकामा सुरक्षा कडाइ र निगरानी बढाउन माग गरिन् । सांसद नीनुकुमारी कर्णले खाना पकाउने ग्यासको अभाव र चिनीको मूल्य वृद्धिबारे सरकारको ध्यानाकर्षण गराइन् । सांसद परशुराम तामाङले भोटेकोशी बाढीबाट प्रभावित सबैका लागि अस्थायी पुनर्वासको व्यवस्था गर्न माग गरे ।

सांसद पार्वती विकले अपाङ्गता भत्ता लिन बायोमेट्रिक व्यवस्था लागू सम्बन्धित पक्ष समस्यामा परेको उल्लेख गर्दै दुर्गम तथा विकट क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न माग गरिन् ।

सांसद पुकार बमले युवा लक्षित सीप, उद्यम र रोजगारसम्बन्धी नीति तथा कार्यक्रम बनाएसँगै त्यसको कार्यान्वयन गर्न र सीपदेखि पुँजी तथा पुँजीदेखि उद्यम र रोजगार जोड्ने व्यवस्था गर्न माग गरे । सांसद पुनमकुमारी अग्रवालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा लगानीकर्ताको लगानी फिर्ताका विषयमा ध्यानाकर्षण गराइन् ।

सांसद पूर्णप्रसाद लिम्बुले बाढी प्रभावित क्षेत्रमा झोलुङ्गे पुल तथा वैकल्पिक सडक निर्माणमा जोड दिइन् ।

सांसद प्रकाश गौतमले पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रको स्पष्ट सीमा नहुँदा वन्यजन्तु र मानव बस्तीबीच द्वन्द्व कायम रहेकातर्फ ध्यानार्कषण गराए ।

सांसद प्रकाशचन्द्र परियारले आसन्न चाडपर्वलाई मध्यनजर गर्दै राजमार्गका खाल्डाखुल्डी तत्काल पुर्न, सुरक्षित यात्रा सुनिश्चित गर्न तथा टिकट वितरणलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रदीप विष्टले सुशासन कायम गर्ने सरकारको कदमलाई साथ दिन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सम्बद्ध पक्षसँग अनुरोध गरे  ।  सांसद प्रभा कार्कीले त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा ज्यान गुमाएका चालक अर्जुन दोङ तामाङको विषयमा स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद प्रमिला कुलुजुले भक्तपुर र चाँगुनारायणमा स्मार्ट सिटी बनाउने योजना अव्यावहारिक रहेको भन्दै खारेज गर्न माग गरे ।

सांसद प्रमोदकुमार महतोले महोत्तरीको बर्दिवासमा लामो समयदेखि रहेको भूमिहीनको समस्या तथा स्थानीय तहबाट सेतो पुर्जा वितरण गर्ने विषय उठिरहेको बताउँदै सङ्घीय सरकारले लालपुर्जा वितरणसम्बन्धी काम अघि बढाइरहेको अवस्थामा स्थानीय तहबाट अनावश्यक राजनीति भएकामा दुःख व्यक्त गरे ।

सांसद प्रशान्त उप्रेतीले भोटेकोशी बाढी गएको एक महिना पुग्न लाग्दासमेत कतिपयले दाहसंस्कार गर्न नपाएको भन्दै  बाढीका कारण घरवारविहीन हुन पुगेका परिवारजनलाई राहत, सुविधाको व्यवस्था गर्न अनुरोध गरे  ।

सांसद प्रेमबहादुर बयकले बाढीपहिरो लगायतका समस्याका कारण असहज अवस्थामा रहेको समयमा सरकारको काम कारबाही प्रभावकारी र पीडितमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।  सांसद प्रेमलाल चौधरीले वित्तीय प्रणालीमा सुधार तथा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्न नीतिगत सुधार गर्न माग गरे  ।

सांसद बदनकुमार भण्डारीले बेथानचोकलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न तथा काभ्रे जिल्लालाई नै पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउन ध्यानाकर्षण गरे  । सांसद बब्लु गुप्ताले सिरहा र उदयपुर जिल्लाको सीमामा रहेको काभ्रेपानी क्षेत्रको समस्याबारे ध्यानाकर्षण गराउँदै कपिलेश्वर वनक्षेत्र सिरहामा परे पनि जग्गाको कर उदयपुरमा तिर्नुपर्ने बाध्यता तथा मन्दिरलगायतको  समस्याबारे ध्यानार्कषण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?