© 2026
बुटवल ।
बुटवल–६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १३औँ साधारणसभा तथा पाँचौँ अधिवेशन आइतबार सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिवेशनमा संस्थाका अध्यक्ष निरमान लामाले नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष रिमकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले गरेकी थिइन् । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले स्वच्छ खानेपानी पाउनु सबै नागरिकको अधिकार भएको बताइन् ।
बुटवलमा झुम्साको खानेपानी नआउँदा समस्या भइरहेको बताउँदै उनले समस्या समाधानका लागि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र रुपन्देही–२ का सांसदलाई भेटेर जानकारी गराएको बताइन् । खानेपानी संस्थालाई नगरपालिकाको तर्फबाट गर्न सकिने सहयोगमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लामाले आफ्नो कार्यकालमा खानेपानी संस्थाको विकास र स्तरोन्नतिका लागि सक्दो पहल गरेको बताए । उनले चालु आर्थिक वर्षमा खानेपानीलाई थप स्वच्छ, सुरक्षित र शुद्ध बनाउन आवश्यक वाटर ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
कार्यक्रममा ८९ वर्षीय ज्येष्ठ नागरिक नीलकण्ठ खनाललाई नगदसहित सम्मान गरिएको थियो । यस्तै, अशोक सार्की र मेनुका हमाललाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
उद्घाटन सत्रमा बुटवल–६ का कार्यवाहक अध्यक्ष चिनु श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा टोल विकास संस्थाका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।
अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।
वि.सं. २०६१ पुस २४ गते स्थापना भएको सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हाल ६८७ जना कुल उपभोक्ता रहेका छन् । संस्थामार्फत ६५४ निजी धारा र ६ वटा सार्वजनिक धारा जडान गरिएको छ ।