© 2026
नेपालगञ्ज (बाँके) । नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ ।
दसैँको अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण सञ्चालन हुन सकेको थिएन । नेपालगञ्जस्थित रामलिला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि दश दिनसम्म रामलिला मञ्चन गर्ने निर्णय गरिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए ।
उनका अनुसार रामलिलाको शुभारम्भ शोभायात्रासहित गरिनेछ । कार्यक्रमलाई यस वर्ष थप व्यवस्थित, प्रभावकारी र भव्य बनाउने तयारी भइरहेको छ । त्यसका लागि समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
“रामलिला नेपालगञ्जको संस्कृति र पहिचानसँग जोडिएको परम्परा हो । परिस्थितिका कारण एक वर्ष नियमित मञ्चन प्रभावित भए पनि यसको निरन्तरता रोक्नुहुँदैन भन्ने उद्देश्यले तयारी अघि बढाइएको हो”, अध्यक्ष कानोडियाले भने ।
रामलिला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली नेपालगञ्ज आउने भएको छ । टोलीले रामायणका प्रमुख प्रसङ्ग तथा भगवान् राम र सीताको जीवनसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्नेछ ।
समितिका अनुसार घटस्थापनादेखि विजयादशमीसम्म प्रत्येक दिन साँझ ८ः०० बजेदेखि राति १२ः०० बजेसम्म रामलिला मञ्चन हुनेछ । वृन्दावनबाट आउने कलाकारले विभिन्न पात्रको भूमिका निर्वाह गर्दै रामायणका प्रमुख घटनाक्रमलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्नेछन् ।
लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको यो परम्परा नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित छ ।