© 2026
राँझा (बाँके) । नेपालगन्जमा बाँदरको आक्रमणमा परी पछिल्लो डेढ महिनामा ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् ।
पछिल्लो डेढ महिनामा बाँदरको आक्रमणमा परी घाइते भएका ४० जना उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेको अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहेका डा बद्री चापागाईंले बताए ।
उनका अनुसार नेपालगन्जमा बाँदरको टोकाइबाट घाइते भएर अस्पताल आउने घटना नयाँ हो । “कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भएर अस्पताल आउने क्रम पुरानै हो”, डा। चापागाईंले भने, “तर अहिले बाँदरसमेत घरघरमा पसेर मानिसलाई टोकेको घटना अचम्मलाग्दो छ ।”
उनले सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तत्काल उपचारका लागि अस्पताल पुग्न सुझाव दिए ।
भेरी अस्पतालमा पछिल्लो समय सर्प तथा जनावरजन्य टोकाइका घटना बढ्दै गएका छन् । डा। चापागाईंले दिएको तथ्याङ्कअनुसार पछिल्लो ४५ दिनमा एक हजार ३६ जना जनावरजन्य टोकाइका बिरामी उपचारका लागि अस्पताल पुगेका छन् ।
सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५ जना, बिरालोको टोकाइबाट ११० जना, बाँदरको टोकाइबाट ४० जना र मुसाको टोकाइबाट २१ जना घाइते भएका छन् ।
यसै गरी, सो अवधिमा भेरी अस्पतालमा सर्प दंशका ११८ जना बिरामी उपचारका लागि पुगेका छन् । कीराको टोकाइबाट चार जना तथा टोक्ने जीवजन्तु पहिचान नभएका १९ जना बिरामी उपचारका लागि अस्पताल पुगेको तथ्याङ्क रहेको डा चापागाईंले बताए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजार क्षेत्रमा यस्तो घटना नयाँ भएको बताए । उनका अनुसार बाँदरको टोकाइबाट घाइते बिरामीलाई जङ्गली जनावर मानेर रेबिजविरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार सहज रूपमा उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।