Butwal Today

बेपत्ता चारको कुशको शव बनाएर दाहसंस्कार

५ आश्विन २०८३, सोमबार
अ+
अ-

पाल्पा ।

भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

तीन सातासम्म उनीहरुको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।

रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३ र वसन्तपुर (कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

रिब्दीकोट गाउँपालिका–३ का नेपालको आइतबार परिवारले रिडीस्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको छ । तीन हप्तासम्म सम्पर्कमा नआएपछि हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको उनका आफन्त निलम गौतमले बताए ।

विकास रसुवास्थित एक हाड्रोपावरमा टिपर चालकका रुपमा कार्यरत थिए । तिनाउका थापाको शनिबार बेपत्ता भएको २४ दिनपछि दोभान खोलाको बञ्चरे पहाड घाटमा हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको जनाएको छ ।

थापाका एक छोरा छन् । थापा रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।

त्यसैगरी, भोटेकोशी बाढीमै बेपत्ता तानसेन लामडाँडाकी निलम लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत थिइन । उनको पनि कालीगण्डकी नदीमा कुशको शव बनाएर दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

तानसेन नगरपालिका–३, बसन्तपुर बस्दै आएका स्याङ्जाका रानाको पनि कुशको शव बनाई दाहसंस्कार गरिएको छ । उनी कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र, स्याङ्जाको बेलाटारीमा कार्यरत थिए ।

बाढीका कारण सम्पर्कविहीन भएका पाल्पाका ११ जना मध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको शव पहिचान भएको छ । सम्पर्कविहीन रैनादेवी छहरा गाउँपालिका –१ का सशस्त्र प्रहरी जवान आनबहादुर कुमाल, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी–३ का बोमबहादुर सोमै, रामपुरका –७ का रामु सुति र रामपुर–७ कै अमृत सुतीको परिवारले भने अझै आउने आशामा बसेका छन् ।

सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर गरिरहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?