© 2026
चन्द्रौटा ।
‘मान्छेको सम्बन्ध विच्छेद भएजस्तै थियो, पहिले वर्षायाम सुरु भएपछि कतिपय गाउँको सम्बन्ध नै विच्छेद हुन्थ्यो ।’
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ का अनिल थारुलाई विगत सम्झँदा अहिले पनि त्यस्तै लाग्छ । वर्षा सुरु हुनासाथ गाउँनजिकका खोला बढ्थे । खोला बढेपछि बाटो बन्द हुन्थ्यो । बाटो बन्द भएपछि बजार, विद्यालय, स्वास्थ्य संस्था र छिमेकी बस्ती पुग्नसमेत समस्या हुन्थ्यो । वर्षायाममा कतिपय बस्तीको बाहिरी संसारसँगको सम्पर्क नै टुटेजस्तो हुने गरेको उनी बताउँछन् ।
तर अहिले विजयनगरको त्यो दृश्य बिस्तारै बदलिँदै छ । खोलामाथि पुल थपिँदै छन् । सडक बस्तीभित्र पस्दै छन् । वर्षायाममा खोला तर्न नसकेर रोकिनुपर्ने बाध्यता घट्दै गएको छ । “केही वर्षअघिसम्म वर्षा सुरु भएपछि खोला बढ्ने र बाटो रोकिने समस्या सामान्य थियो,” थारुले भने, “अहिले पुल बन्न थालेपछि हरेक मौसममा आवतजावत गर्न सहज हुँदै गएको छ ।”
कुनै समय कपिलवस्तुको सुदूर क्षेत्रका रूपमा चिनिने विजयनगरमा खोला र नदीमाथि पुल नहुँदा वर्षायामको यात्रा निकै कठिन थियो । गाउँपालिकाको केन्द्र तथा बजारसम्म पुग्न स्थानीयले खोला घट्ने समय कुर्नुपर्ने अवस्था थियो । विद्यार्थी विद्यालय जान, बिरामी स्वास्थ्य संस्था पुग्न र किसानले उत्पादन बजारसम्म लैजानसमेत समस्या भोग्दै आएका थिए ।
सङ्घीयता कार्यान्वयनपछि भने गाउँपालिकामा पूर्वाधार निर्माणले गति लिन थालेको छ । सडकसँगै खोलानालामा पुल निर्माणलाई प्राथमिकता दिइएपछि वर्षायाममा बस्तीको सम्पर्क विच्छेद हुने समस्या क्रमशः कम हुँदै गएको गाउँपालिकाको भनाइ छ ।
विजयनगर गाउँपालिकामा हालसम्म तीन वटा पक्की पुल र सात वटा झोलुङ्गे पुल गरी १० वटा पुल निर्माण सम्पन्न भएका छन् । थप पाँच वटा मोटरेबल पुल निर्माणका विभिन्न चरणमा छन् ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार पुल निर्माणसँगै वर्षायाममा बस्तीबिच हुने आवतजावतको समस्या घट्दै गएको छ । सडक सञ्जालसँगै पुल निर्माणलाई पनि प्राथमिकतामा राखिएकाले गाउँपालिकाका विभिन्न बस्ती क्रमशः सहज यातायातको पहुँचमा जोडिँदै गएको उनी बताउँछन् ।
पुल निर्माणको प्रत्यक्ष प्रभाव स्थानीयको दैनिकीमा देखिन थालेको छ । विजयनगरका स्थानीय सञ्जय थारुका अनुसार पहिले खोलाको अवस्था हेरेर मात्र यात्रा तय गर्नुपर्थ्यो । अहिले पुल बनेपछि किसानले खेतबारीमा उत्पादन गरेका वस्तु बजारसम्म लैजान सहज भएको छ । “पुलले गाउँको दूरी मात्र घटाएको छैन, दैनिकी नै सहज बनाएको छ,” उनले भने, “पहिले खोला बढेपछि बजार जानसमेत समस्या हुन्थ्यो । अहिले त्यो बाध्यता धेरै कम भएको छ ।”
निर्माणाधीन तथा प्रस्तावित पुलसमेत सम्पन्न भए गाउँपालिकाका अधिकांश बस्ती सडक सञ्जालसँग सहज रूपमा जोडिने स्थानीयको अपेक्षा छ । यसले विजयनगरको दुर्गम पहिचानसमेत बदल्न सहयोग पुग्ने उनीहरूको विश्वास छ ।
सङ्घीय सरकारको योजनाअन्तर्गत लोनिया–कटानिया जोड्ने विशवा खोला पुल र परसोहिया–पत्थरदेइया जोड्ने पक्की पुल निर्माणाधीन छन् । छुटपाटी–भागीरामपुर जोड्ने चिराई खोला पुल तथा नौरंगिया–असनारा जोड्ने चिराई खोला पुल भने ठेक्का प्रक्रियामा छन् ।
लुम्बिनी प्रदेश सरकारको बजेटबाट पनि गाउँपालिकाका विभिन्न स्थानमा पुल निर्माण भएका तथा भइरहेका छन् । नेवलागन्ज हुँदै जवाभैराठ पुग्ने विशवा खोला पुल र इमलीखर्क–भटनी खोला पुल निर्माण सम्पन्न भइसकेका छन् । अमलवा–मानपुर जोड्ने पुल तथा गुगौली–जवाभैराठ जोड्ने चिराई खोला पुल निर्माणको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बताए ।
विजयनगरका खोलानालामा पैदल आवतजावतका लागि पनि झोलुङ्गे पुलको सञ्जाल विस्तार भएको छ । चिराई खोला क्षेत्रमा भागीरामपुर, नौरंगिया, लोहरौला डाँडागाउँ र गुगौलीघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । छुटपाटी–थरौली जोड्ने झोलुङ्गे पुल भने निर्माणाधीन छ ।
त्यस्तै विशवा खोला क्षेत्रमा नौडिहवा–गोबरहवा र नेवलागन्ज–मधनगरा जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
पुल बनेपछि वर्षायाममा खोला बढ्दा बस्ती तथा सडक सम्पर्क विच्छेद हुने समस्या मात्र घटेको छैन, स्थानीयको सामाजिक तथा आर्थिक गतिविधिमा पनि सहजता थपिएको छ । विद्यार्थीलाई विद्यालय पुग्न, बिरामीलाई स्वास्थ्य संस्था लैजान, किसानलाई उत्पादन बजारसम्म पु¥याउन र स्थानीयलाई गाउँपालिकाको केन्द्र तथा अन्य बजारसम्म पुग्न सहज भएको छ ।
विजयनगरमा अझै निर्माणाधीन पुल छन्, कतिपय योजना प्रक्रियामा छन् । ती सबै सम्पन्न भएपछि गाउँपालिकाका बाँकी बस्ती पनि वर्षायामको जोखिमबाट थप सुरक्षित हुने स्थानीयको अपेक्षा छ ।
कुनै समय खोलाले रोकेको बाटोका कारण वर्षायाममा गाउँको सम्बन्ध नै टुट्ने विजयनगरमा अहिले त्यही खोलामाथि पुल थपिँदै छन् । खोलाले छुट्याएका बस्तीलाई पुलले जोड्न थालेपछि यहाँका स्थानीयको दैनिकीसँगै गाउँको पहिचानसमेत बिस्तारै बदलिँदै गएको छ ।