Butwal Today

रोल्पामा भलिबल विकासका लागि स्थानीय तहको लगानी बढाउनुपर्नेमा जोड

५ आश्विन २०८३, सोमबार
अ+
अ-

रोल्पा । रोल्पामा भलिबल खेलको विकास, विस्तार र संस्थागत सुदृढीकरणका लागि स्थानीय तह, खेलकुदसम्बद्ध संघसंस्था तथा सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । जिल्ला भलिबल संघ, रोल्पाको दोस्रो जिल्ला अधिवेशनमा सहभागी वक्ताहरूले जिल्लामा भलिबल खेलको राम्रो सम्भावना रहेकाले खेलाडी उत्पादनदेखि प्रतियोगिता सञ्चालनसम्मका गतिविधिलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले रोल्पामा भलिबल खेलको विकासका लागि स्थानीय तहले विशेष महत्व दिँदै आएको बताए । उनले भलिबल राष्ट्रिय खेल भएकाले यसको विकासका लागि स्थानीय तहबाट पनि आवश्यक सहयोग र सहकार्य हुनुपर्ने बताए ।

नगर प्रमुख घर्तीले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न खेलका प्रशिक्षकसमेत राखेर खेलाडीको क्षमता विकासमा काम गरिरहेको बताए । खेलकुदको विकास केवल प्रतियोगिता आयोजना गरेर मात्र सम्भव नहुने भन्दै नियमित प्रशिक्षण, खेलाडी उत्पादन र आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले ठूला स्तरका भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा दक्ष रेफ्रीको अभाव देखिने गरेको बताए । प्रतियोगिताको स्तर र व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लामै रेफ्री उत्पादन तथा प्रशिक्षणको आवश्यकता रहेको उनले बताए । खेलाडीको संख्या बढ्दै गए पनि प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति पर्याप्त नहुँदा समस्या हुने गरेको उनको भनाइ थियो ।

“रोल्पामा भलिबलको राम्रो सम्भावना छ । स्थानीय तहले खेल विकासका लागि विभिन्न खेलका प्रशिक्षक राखेर प्रशिक्षणको व्यवस्था गर्दै आएको छ,” उनले भने, “ठूला खेल प्रतियोगिता आयोजना गर्दा रेफ्रीको अभाव देखिने गरेको छ । त्यसैले खेलाडी उत्पादनसँगै दक्ष रेफ्री उत्पादनमा पनि ध्यान दिन आवश्यक छ ।” अधिवेशनमा विशिष्ट अतिथिका रूपमा नेपाल भलिबल संघका केन्द्रीय सदस्य किशोर कुमार आचार्य, रोल्पा नगरपालिकाका निवर्तमान नगर प्रमुख पुरण केसी, नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष वीरबहादुर कुँवरलगायतको उपस्थिति थियो ।

त्यसैगरी जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष मोलङ घर्तीमगर, रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री, जिल्ला फुटबल संघ रोल्पाका कार्यवाहक अध्यक्ष नेत्रजङ्ग सेनलगायत विभिन्न खेलसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार, खेलाडी, खेलप्रेमी, समाजसेवी, बुद्धिजीवीलगायतको समेत उपस्थिति रहेको थियो । अधिवेशनमा जिल्लाको खेलकुद क्षेत्रको अवस्था, भलिबल खेलको वर्तमान अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत छलफल भएको थियो । सहभागीहरूले जिल्लामा भलिबलप्रति युवाको आकर्षण बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थित प्रशिक्षण र प्रतियोगितामार्फत थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

रोल्पाका विभिन्न स्थानीय तहमा भलिबल प्रतियोगिता आयोजना हुँदै आएका छन् । गाउँ तथा टोलस्तरमा समेत भलिबल खेलप्रति आकर्षण रहेको भन्दै खेलाडीको प्रतिभा पहिचान गरी जिल्लादेखि प्रदेश र राष्ट्रिय स्तरसम्म पुर्‍याउने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।भलिबल खेलको विकासका लागि विद्यालय तहबाटै प्रशिक्षण र प्रतियोगितालाई प्राथमिकता दिनुपर्ने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो । विद्यालयमा खेलकुद गतिविधि विस्तार गर्न सके नयाँ पुस्ताबाट प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने सहभागीहरूको भनाइ थियो । अधिवेशनबाट जिल्ला भलिबल संघ, रोल्पाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । दोस्रो जिल्ला अधिवेशनबाट हिमाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हिमाल डाँगी चयन भएका छन् । उपाध्यक्षमा अमृतसिंह घर्ती मगर र भुपेन्द्र कँवर चयन भएका छन् । महासचिवमा भूगोल डाँगी चयन भएका छन् भने कोषाध्यक्षमा मनकुमारी घर्ती मगर चयन भएकी छन्।

त्यसैगरी सदस्यहरूमा सोमबहादुर घर्ती मगर, औतबहादुर रोका, भीमु पुनलगायत रहेका छन् । कार्यसमितिमा गगन बुढामगरसहित नौ जना सदस्य रहने गरी नयाँ कार्यसमिति गठन गरिएको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले रोल्पामा भलिबल खेलको विकास र विस्तारका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले जिल्लाका सबै स्थानीय तह, विद्यालय, खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलकुदसम्बद्ध संघसंस्थासँग सहकार्य गरेर भलिबलको गतिविधिलाई थप व्यवस्थित बनाउने बताएका छन् ।

नयाँ कार्यसमितिले जिल्लामा नियमित भलिबल प्रतियोगिता सञ्चालन गर्ने, प्रतिभावान खेलाडी पहिचान गर्ने, खेलाडीलाई आवश्यक प्रशिक्षणको अवसर उपलब्ध गराउने तथा प्राविधिक जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । विशेषगरी दक्ष रेफ्रीको अभावलाई सम्बोधन गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । जिल्लामै रेफ्री उत्पादन गर्न सके स्थानीय, जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनमा सहज हुने सरोकारवालाहरूको भनाइ छ । नेपालमा भलिबल खेलको लोकप्रियता बढ्दै गएको अवस्थामा रोल्पामा पनि यस खेलको गतिविधि विस्तार भइरहेको छ । भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्रका युवासमेत भलिबल खेलमा सक्रिय रहेको भन्दै उनीहरूलाई आवश्यक अवसर र प्रशिक्षण प्रदान गर्न सके जिल्लाबाट प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने सहभागीहरूले बताएका छन् । अधिवेशनले जिल्ला भलिबल संघलाई थप संस्थागत र सक्रिय बनाउने अपेक्षा गरिएको छ । खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलकुदसम्बद्ध संघसंस्थाबीच समन्वय कायम गर्दै जिल्लाको भलिबल विकासका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

कार्यक्रममा सहभागी खेलकुदसम्बद्ध प्रतिनिधिहरूले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभई अनुशासन, स्वास्थ्य, नेतृत्व विकास र सामाजिक एकताको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताएका थिए । खेलाडीलाई नियमित अभ्यासका लागि मैदान, सामग्री र प्रशिक्षकको व्यवस्था गर्न सके जिल्लाको खेलकुद क्षेत्रले थप गति लिन सक्ने उनीहरूको भनाइ थियो । रोल्पामा भलिबल खेलको सम्भावना उच्च रहेकाले स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, नेपाल भलिबल संघ, विद्यालय तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा बताइएको थियो । नयाँ कार्यसमितिले सबै पक्षसँग समन्वय गरी जिल्लामा भलिबलको आधार बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।

दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएपछि जिल्ला भलिबल संघ रोल्पाले आगामी दिनमा खेल गतिविधिलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ । खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता सञ्चालन, रेफ्री तथा प्रशिक्षक विकास र खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न सके रोल्पाको भलिबलले प्रदेश तथा राष्ट्रिय स्तरमा थप पहिचान बनाउन सक्ने सरोकारवालाहरूको भनाइ छ । अधिवेशनले जिल्लाको भलिबल क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् । नयाँ नेतृत्वले खेलाडी तथा खेलप्रेमीको अपेक्षाअनुसार काम गर्दै जिल्लामा भलिबल खेलको विकासका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?